तनहुँमा जोशी समूह : कांग्रेससँग एकीकरण प्रस्ताव

पोखरा । तनहुँ १ का सांसद रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएपछि रिक्त रहेको पदमा वैशाख १० गते उपचुनाव हुँदैछ । विभिन्न राजनीतिक दलबाट ९ जनाले उम्मेदवारी दर्ता गरेका छन् । त्यसमध्ये ३ पात्रबीच प्रतिस्पर्धा हुने पक्का छ ।

डिफेण्डिङ च्याम्पियन नेपाली कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ भने एमाले चाहिँ त्रिपक्षीय प्रतिस्पर्धाबाट आफ्नो पक्षमा जित निकाल्न चाहन्छ । कांग्रेस छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका स्वर्णिम वाग्लेलाई असन्तुष्ट कांग्रेसको भर छ । त्यसमाथि युवापुस्ताको मत रास्वपामा अधिकतम खस्छ । गोविन्द भट्टराईलाई कांग्रेसले टिकट दिएको छ । एमालेबाट सर्वेन्द्र खनाल प्रतिस्पर्धी छन् । उम्मेदरहरु मत माग्न घरदैलोमा व्यस्त छन् । केही भने आन्तरिक कुरा मिलाउन लागिरहेका छन् ।

तनहुँको चुनावमा अर्को ठूलो फ्याक्टर पनि छ, गोविन्दराज जोशी समूह । कांग्रेसको पेलानमा परेर स्वतन्त्र समूहको नेतृत्व गरेका जोशीले कसलाई सहयोग गर्छन् भन्ने आधिकारिक धारणा आएको छैन । तर उनी कांग्रेससँग मिलेर जान चाहन्छन् । चुनावको मनोनयन दर्ता गर्न आउँदा महामन्त्री गगनकुमार थापाले जोशी समूहसँग सामान्य भेटघाट र कुराकानी गरेका छन् । त्यसकै आधारमा अहिले जोशी कांग्रेस नेतृत्वसँग छलफल गर्न काठमाडौँमा छन् । कांग्रेसले आफ्नो समूहलाई स्वीकार गर्ने र सम्मानित अवस्था बने कांग्रेसलाई नै सहयोग गर्ने पक्षमा जोशी समूह छ ।

‘पद मात्रै दिएर सहयोग गर्ने होइन, कांग्रेससँगको कुरा मात्रै होइन । एमालेसँग पनि सहकार्य गरेर चुनाव लडेको हो । हाम्रो समूहमा वडादेखि केन्द्रसम्म राजनीतिक दलमा सहभागी भएर काम गर्न सक्ने खुबी भएको मान्छे छन् । सबैको व्यवस्थापन गरिनुपर्छ,’ जोशीका छोरा दीपकराज जोशी भन्छन्, ‘म खुसुक्क जाने होइन, कांग्रेससँग एकता गरिनुपर्छ । हाम्रा साथीहरूको सेटलमेण्ट हुनुपर्छ ।’ यस विषयमा कांग्रेससँग निरन्तर संवाद भइरहेको जोशीले बताए । ‘हामीले चाहिने कुरा मागेका छौँ । कांग्रेसले के चाहेको हो भन्ने हामीसँग भनेको छैन । उहाँहरूले कांग्रेसलाई सहयोग गर्नुस् मात्रै भन्नुभएको छ,’ अघि भन्छन्, ‘हामीसँग भएको ग्रुप कांग्रेसकै हुन् । गोविन्द राज जोशीलाई मात्रै कुनै पद दिएर जान हुन्न भन्ने पक्षमा हामी छौँ ।’

स्थानीय निर्वाचनमा एमालेसँग मिलेर व्यासको मेयर उठेका थिए दीपक । प्रतिनिधिसभा निर्वाचनमा एक्लै उठेका थिए गोविन्द । चुनाव जित्ने सम्भावना नभएकै कारण अहिले उम्मेदवारी नदिएको दीपकको भनाई छ । ‘हार्नका लागि किन चुनाव लड्ने ? भोट काटिदिएर कसैलाई पराजित गर्ने रहर छैन । ७ हजार भोट मात्रै ल्याएर चुनाव जितिन्न,’ उनले थपे, ‘एउटा ग्रुप १७ वर्षदेखि लगातार लडिरहेको छ । हामीले पार्टी दर्ता गरेको छैन । नेपाली कांग्रेसको समानान्तर समूह बनाएर हामी राष्ट्रिय ध्यान आकर्षण गरेका छौँ । स्वार्थ सबैमा हुन्छ । पद र पावरमा नहुँदा पनि निरन्तर गोविन्दराज जोशीको पछि मान्छे लागिरहेका छन् । किनकि यहाँ लोकतन्त्र छ ।’

कांग्रेसले कारबाही फुकुवा गर्नुमा भने कुनै तुक नरहेको उनले सुनाए । ‘हाम्रा साथीहरूलाई कांग्रेसले गरेको कारबाही फुकुवाले झनै मन दुखाएको हो । पार्टीलाई जहिले चाहिन्छ, हामीलाई प्रयोग गर्ने प्रयास भयो । हामीलाई कांग्रेस चाहिने होइन, कांग्रेसलाई हामी चाहिएको हो नि,’ भने, ‘कांग्रेससँग सहमति मिल्यो भने गोविन्द भट्टराईलाई मत माग्छौँ । हामीलाई स्वीकार गर्नु हुन्छ र धोका हुँदैन भने हामी मत माग्न लाग्छौँ । पार्टीमै गयौँ भने पार्टी विरुद्ध लाग्ने कुरा हुँदैन ।’ सबै उम्मेदवारले सहयोगका लागि आग्रह जोशीसँग गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *