लखनऊलाई हराउँदै चेन्नईले निकाल्यो पहिलो जित

काठमाडौँ । इण्डियन प्रिमियर लिग अन्तर्गत चेन्नई सुपर किंग्सले लखनउ सुपर जाइन्टलाई १२ रनले पराजित गरेको छ ।
सोमबार राति सम्पन्न खेलमा चेन्नईले दिएको २१८ रनको लक्ष्य पछाएको लखनउले २० ओभरमा ७ विकेट गुमाउँदै २०५ रन बनाएको थियो । लखनउका लागि काइल मेयर्सले सर्वाधिक ५३ रन बनाएका थिए भने निकोलस पुरनले ३२ रन बनाएका थिए ।
आयुष बदानीले २३, कप्तान केएल राहुलले २०, मार्कस स्टोइनिसले २१ रन, मार्क वूड़ले अविजित १० तथा कृष्नप्पा गौतमले १७ रन बनाएका थिए । त्यसैगरी चेन्नईका बलर मोइन अलीले ४ विकेट लिए भने तुसार देशपाण्डेले २ तथा मिचेल सान्टनरले एक विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको चेन्नईले २० ओभरमा ७ विकेट गुमाएर २१७ रन बनाएको थियो । चेन्नईका लागि रुतुराज गायकवाडले सर्वाधिक ५७ रन बनाए भने डेभोन कोनवेले ४७, शिभम दुवे र अम्बाती रायडुले २७-२७ रन बनाएका थिए ।
त्यस्तै मोइन अलीले १९ र कप्तान महेन्द्र सिंह धोनीले १२ रन बनाएका थिए । लखनउका बलर रवि विश्नोई र मार्क वूड़ले ३-३ विकेट लिए भने अभेस खानले एक विकेट लिएका थिए ।
यो जितपछि चेन्नईले दोस्रो खेलमा यस सिजनमा पहिलो जित हासिल गरेको छ । त्यस्तै लखनउले भने दोस्रो खेलमा पहिलो हार बेहोरेको छ ।








