कारबाही फुकुवा भएपछि कांग्रेस नेता जोशी भन्छन् : यो जालझेलको पुलिन्दा हो

पोखरा । नेपाली कांग्रेसका पूर्व सहमहामन्त्री तथा पुराना नेता गोविन्द राज जोशीमाथिको कारबाही कांग्रेसले फुकुवा गरिदिएको छ । २०७४ को निर्वाचनमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई हराउन भूमिका खेलेको आरोपमा उनीमाथि कारबाही गरिएको थियो । २०७५ पुस २४ गते उनीमाथि कारबाही भएको थियो । त्यसपछि पनि पार्टी नछोडेका जोशीले जिल्लामा समानान्तर गतिविधि गर्दै आए । अहिले पौडेल पुनः निर्वाचित भएर राष्ट्रपति बने । जोशीमाथिको कारबाही फुकुवालाई धेरैले बहु आयामिक रूपमा हेरेका छन् । तर जोशीले भने यसलाई जालझेलको पुलिन्दाको संज्ञा दिएका छन् ।

‘यो जालझेलको पुलिन्दा हो । मसँग कसैले सल्लाह र छलफल गरेको पनि छैन । सम्पर्क राखेको पनि छैन,’ उनी भन्छन्, ‘मलाई न कसैले कारबाही गर्न सक्छ, न फुकुवा गर्न सक्छ ।’

कांग्रेसले गरेको कारबाही फुकुवाले कुनै अर्थ नराख्ने जोशीको तर्क छ ।

‘अहिले मिडियामा आएको कुराले कुनै अर्थ राख्दैन,’ उनले भने । यस्तै, जोशीले आफू उपचुनावको तयारीमा रहेको प्रतिक्रिया दिएका छन् । ‘ म अहिले आफ्नै समूहको छलफलमा छु, दमौलीमा । आगामी चुनावमा के गर्ने भन्ने छलफल भइरहेको छ,’ जोशीले भने, ‘उपचुनावमा कसरी जाने भनेर योजना बनिरहेको छ । अहिले नै बोल्ने कुरा छैन ।’

उनका छोरा दीपक जोशीलाई उपचुनावमा उठाउन खोजेको संकेत छ । दीपक यसअघि स्थानीय निर्वाचनमा व्यास नगरपालिकाको मेयरमा उम्मेदवार बनेका थिए । उनलाई एमालेले समेत साथ दियो । तर प्रतिनिधिसभा निर्वाचनमा भने गोविन्द आफैँ कस्सिए । एमालेले साथ खोजेको थियो, उनले वास्ता गरेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *