पोखरेलीलाई बेचेको खानेपानीको रोयल्टी माग्यो माछापुच्छ्रे गाउँपालिकाले

पोखरा । पोखरा महानगरका अधिकांश वडामा मर्दी खोलाको पानी वितरण हुन्छ । खानेपानी संस्थाले मर्दीखोलाबाट पानी ल्याएर पोखरामा वितरण गर्दै सेवाग्राहीसँग शुल्क उठाउँछ । पोखराकै आम्दानीले देशभरीका खानेपानी संस्थान चलेका छन् । तर प्रभाव क्षेत्र (मुहान भएको पालिका) मा पानी वितरणबाट प्राप्त आम्दानीको लाभ पुग्न सकेको छैन ।

लामो समय एकलौटी रूपमा संस्थानले उठाउँदै आएको शुल्कको केही प्रतिशत रकम आफूले पनि पाउनुपर्ने माग सहित माछापुच्छ्रे गाउँपालिकाले राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगलाई पत्र लेखेको छ । माछापुच्छ्रे गाउँपालिका भएर बग्ने मर्दीखोलाको पानी खानेपानी संस्था पोखराले उपयोग गरिरहेको र उपयोग गरेको पानीको रोयल्टी माग गरिएको पालिकाले जनाएको छ ।

मर्दीबाट संस्थानले दैनिक ४ करोड ५० लाख लिटर पानी ल्याएर बेचेको छ । सोही पानी बेचेर दैनिक ११ लाख २५ हजार रुपैयाँ र वार्षिक ४१ करोड ६ लाख रुपैयाँ आम्दानी गरेको तथ्याङ्क छ । संस्थानले प्रति युनिट पानी २५ रुपैयाँमा बेचेको हो । ‘मर्दीको पानीबाट संस्थानले दैनिक गरेको उक्त आम्दानीको निश्चित प्रतिशतको हिस्सेदारको रूपमा माछापुच्छ्रे पनि हुनुपर्ने हो,’ अध्यक्ष मीनबहादुर गुरुङले भने, ‘तर अहिलेसम्म संस्थानले एकलौटी रूपमा प्रयोग गर्दै आएको छ ।’

माछापुच्छ्रेको लुम्रे, ठाँटी, नयाँ पुल, खोरामुख, भेडाबारी, समीवगरको खेतीयोग्य जमिनलाई कटान गरी हजारौँ रोपनी जग्गा बगरमा परिणत गरेको र मानव बस्ती समेत जोखिममा परेको भन्दै विपद् व्यवस्थापनका लागि सहयोग गर्न पालिकाले आग्रह गरेको छ । ‘उक्त महशुलबाट प्रभावित क्षेत्रमा विपद् व्यवस्थापन कार्यक्रम ल्याउनु अति आवश्यक छ । विश्वव्यापी रूपमा चल्दै आएको ‘पेमेण्ट फर इकोसिस्टम सर्भिसेज’ को प्रावधान बमोजिम केही प्रतिशत रकम रोयल्टीका रूपमा माछापुच्छ्रे गाउँपालिकामा प्राप्त भएमा विपद् कोष खडा गरिने अवगत गराइन्छ,’ पत्रमा भनिएको छ ।

पोखरा महानगरको मुख्य खानेपानीको श्रोतको रूपमा रहेको मर्दीखोलामा आवश्यक वातावरणीय संरक्षण गर्न पोखरा महानगर, खानेपानी संस्थान साथै सबैसँग समन्वय गरिने पालिकाकी उपाध्यक्ष सीता अधिकारीले बताइन् । माछापुच्छ्रेका स्थानीयले हरेक वर्ष खानेपानी आयोजनाका कारण आफूहरू समस्यामा परेको गुनासो गर्दै आएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *