बुद्ध एयरको ‘कस्टमर केयर’ : अशक्तका लागि विशेष सुविधा

काठमाडौँ । लामो समयदेखि बुद्ध एयरले यात्रुहरूलाई विमान सेवा दिएर सुरक्षित उडान भर्दै आएको छ । हाल बुद्ध एयरले ‘कस्टमर केयर सर्भिस’ अन्तर्गत सुविधा अझ थप गरेकाे छ । अशक्त यात्रुहरूकै लागि भनेर बुद्ध एयरले अन्तर प्रदेशीय उडानमा विशेष सुविधा थप गरेको बुद्ध एयरका कम्युनिकेसन म्यानेजर दीपेन्द्र कर्णले बताए ।

उनका अनुसार दैनिक ८ हजार मानिसले बुद्ध एयरबाट यात्रा गर्छन् । ती मध्ये अशक्त, अपाङ्ग, बिरामी र वृद्धवृद्धाको संख्या सयौँको संख्यामा छ । उनीहरूको सहज उडानका लागि बुद्ध एयरले कस्टमर सर्भिस अन्तर्गत प्रदेशीय उडानमा विशेष सुविधा ल्याएको हो ।

पहिला विमानयात्रुले एयरपोर्टमा आएर ह्विल चियर र अक्सिजनको व्यवस्था मिलाइदिन आग्रह गर्थे । ह्विल चियर आवश्यक पर्ने बिरामी दैनिक ४–५ जना नै हुन्थे । तर अहिले बुद्ध एयर पूर्वतयारीमा रहेको कर्ण बताउँछन् ।

‘पहिले एयरपोर्टमा यात्रुहरू आउनुहुन्थ्यो,’ उनले भने, ‘अक्सिजन चाहियो, ह्विलचियर चाहियो भनेर हामीलाई रिक्वेस्ट गर्नूहुन्थ्यो । अब चाँहि त्यो गर्नु परेन हामी अगाडि नै तयारीमा छौँ ।’

बुद्ध एयरको विशेष कस्टमर सर्भिस

कर्णले बुद्ध एयरको कस्टमर सर्भिस पहिल्यैदेखि सञ्चालनमा रहेको र उक्त सर्भिसलाई सबैको पहूँचमा पुर्याउन र अझ ससक्त रुप दिन बुद्ध एयरले थप सेवाहरू विस्तार गरेको बताए ।

‘यो सेवा पहिल्यैदेखि थियो तर सबैको पहुचमा पुर्याउन यो सेवा परिमार्जन र विस्तार गरिएकाे हाे,’ उनले भने ।

बुद्ध एयरको ‘विशेष कस्टमर सर्भिस’ अन्तर्गत विभिन्न सेवाहरू सञ्चालनमा रहेका छन् । सेवाबारे जानकारी दिँदै कर्णले भने, ‘यदि कोही बालबालिका अभिभावक बिना बिराटनगर जानुपर्याे भने हामीले उनीहरूलाई यात्रा अवधिभर अभिभावक बनेर गन्तव्यमा पुग्न सहयोग गर्छाैँ । गन्तव्यमा पुगेपछि दिइएको नामका व्यक्तिलाई जिम्मा लगाउँछौँ ।’

बुद्ध एयरले एक्लै यात्रा गर्नूपर्ने बालबालिकाका लागि अभिभावक बनेर यात्रामा सहयोग गर्ने बताए ।

त्यस्तै यात्राका क्रममा बिरामीलाई अक्सिजन सिलिन्डर आवश्यक पर्ने देखिएमा अक्सिजन सुविधा र प्लेनबाट बाहिर निस्केपछि आवश्यक यात्रुहरूका लागि एम्बुलेन्सको सुविधा पनि व्यवस्था गरिएको छ ।

कस्ले पाउँछ बुद्ध एयरको विशेष कस्टमर सर्भिस ?

बुद्ध एयरबाट यात्रा गर्ने अशक्त, बिरामी, हिँड्डुल गर्न नसक्ने, अपाङ्ग, वृद्धवृद्धा, गर्भवति महिला र एक्लै यात्रा गर्न नसक्ने साना बालबालिकाले विशेष कस्टमर सर्भिस पाउँछन् ।

कम्युनिकेसन म्यानेजर कर्णका अनुसार बुद्ध एयर निम्न अवस्थाका यात्रुलाई विशेष कस्टमर सर्भिस दिइरहेकाे छ :

  • १२ वर्षभन्दा मुनिका बालबालिका जसलाई हेरचाहको आवश्यकता पर्छ र एक्लै यात्रा गर्नु पर्ने हुन्छ,
  •  ७० वर्षमाथिका वृद्धवृद्धा (जेष्ठ नागरिक),
  •  अपाङ्ग अशक्त जसलाई ह्विल चियरको आवश्यक्ता पर्छ,
  •  २७ देखि ३२ हप्तासम्मको गर्भवती महिला आदि

अशक्त भएपनि बुद्ध एयरको विशेष कस्टमर सर्भिस नपाउने अवस्था

बुद्ध एयरका कम्युनिकेसन म्यानेजर कर्णका अनुसार अशक्त र बिरामी हुँदैमा बुद्ध एयरले विशेष कस्टमर सर्भिस दिँदैन ।
एक हप्ता नपुगेका नवजात शिशु, ३२ हप्तापछिका गर्भवती महिला, स्वास्थको दृश्टिकोणले जोखिम भएका यात्रुहरूलाई बुद्ध एयरको सेवा मात्र नभएर उडानमा पनि रोक लगाएको छ । तर बिरामी भएका व्यक्तिहरूका हकमा ‘फिट टु फ्लाई’ सिस्टम राखिएको छ ।

के हो ‘फिट टु फ्लाई’ ?

‘फिट टु फ्लाई’को बारेमा जानकारी दिँदै कर्णले भने, ‘स्वास्थको दृश्टिकोणले जोखिम हुने यात्रुकाे हकमा डाक्टरको प्रेसक्पिसन माग्छौँ । उहाँ बिरामी भए पनि यात्रा गर्न सक्नुहुन्छ भनेर डाक्टरले प्रेस्किप्सनमा लेखिदिएपछि मात्र हामी उहाँहरूलाई उडाउँछौँ ।’

डाक्टरले ‘फिट टु फ्लाई’ अर्थात उनी उडान योग्य छन् र उडानको क्रममा समस्या हुने देखिएको छैन भनेपछि मात्र उडान गराउने उनि बताउँछन् ।
उनका अनुसार यात्रा गर्नै नसक्ने खालका बिरामीलाई यात्रा गराउँदा अन्य यात्रुहरूको उडानसमेत जोखिममा पर्ने गर्दछ ।

बुद्ध एयरको स्पेशल कस्टमर सर्भिस कसरी लिने ?

बुद्ध एयरको स्पेशल कस्टमर सर्भिस लिन बुद्ध एयरको वेव साइट अथवा मोबाइल एपमा गएर टिकट काट्नु पर्छ । यसका थप प्रक्रियाबारे बताउँदै कम्युनिकेशन म्यानेजर कर्णले भने, ‘हाम्रो वेवसाइट छ, डब्लु डब्लु डब्लु डट बुद्ध एयर डट कम त्यहाँ जाने, टिकट काट्ने, टिकट काटिसकेपछि ‘डु यु निड इस्पेसल एसिस्टेन्स ?’ भन्ने प्रश्नात्मक विकल्प  आउँछ । त्यसपछि हो, मलाई स्पेसल एसिस्टेनस चाहियो भनेर क्लिक गर्नु पर्छ ।’ त्यसपछि ह्वील चियर चाहियो कि ?, अक्सिजन चाहियो कि ?, गर्भवति हुनुहुन्छ कि ?, अशक्त–अपाङ्ग के छन् त्यहि अनुसार टिकट मगाउनु पर्ने उनले बताए ।

यात्रुले टिकट मगाएकै आधारमा बुद्ध एयरले उडानका लागि तयारी गर्ने उनको भनाइ छ । उनले भने ‘यात्रुहरूले टिकट मगाएपछि हामी कहाँ म्यासेज आउँछ । उक्त म्यासेजकै आधारमा बुद्ध एयर उडानका लागि तयार गर्दछ ।’

उक्त यात्रुलाई यात्रा अवधिभर विशेष निगरानीमा राखेर सुरक्षित साथ गन्तव्यमा पुर्याउने उनले जानकारी दिए । अहिले पनि दिनमा सयौँ जनाले यो सेवा लिइरहेका उनकाे भनाइ छ ।

त्यस्ता व्यक्तिहरूकै लागि भनेर बुद्ध एयरले जहाजमा चढ्नका लागि र्याम्प राखेको छ । अशक्त यात्रुका लागि चेकिङ्ग काउन्टर पनि छुट्टै बनाइएको छ । उक्त सेवाबापत बुद्ध एयरले थप कुनै शुल्क लिँदैन ।

उनले भने ‘ यो सेवा बापत शुल्क लाग्ने छैन । हामीले उहाँहरूबाट ५ पैसा पनि लिएका छैनौँ । एक्स्ट्रा चार्जहरू तिर्नुपर्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *