हुम्लामा बाबुछोराले सँगै दिए एसइई

हुम्लामा ६० वर्षीय बुबा र १५ वर्षीय छोराले सँगै माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएका छन् ।

जिल्लाको मध्य भेगमा रहेको कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा सर्केगाड गाउँपालिका–५ का ६० वर्षीय मानबहादुर शाही र १५ वर्षीय छोरा यज्ञबहादुर शाहीले सँगै एसइईको परीक्षा दिएका हुन्। पुरानो पुस्ता र नयाँ पुस्ताका बाबुछोराले सँगै एसइईको परीक्षा दिएको कोट माध्यमिक विद्यालय एसइईका केन्द्राध्यक्ष मुमलाल आर्चायले जानकारी दिए।

त्यस्तै हिमज्योति माध्यमिक विद्यालय सर्केगाड परीक्षा केन्द्रबाट सर्केगाड गाउँपालिका–१ का ५० वर्षीय बाबु नन्दलाल बुमी र १६ वर्षीया छोरी जयलक्ष्मी बुमीले पनि एसइईको परीक्षा दिएको केन्द्राध्यक्ष जयबहादुर धामीले बताए। त्यसैगरी अदानचुली गाउँपालिका–२ का ४८ वर्षीय कमलबहादुर बुढा र उनका २३ वर्षीय छोराले सूर्यदय माध्यमिक विद्यालयको परीक्षा केन्द्रबाट परीक्षा दिएका छन्।

परीक्षामा २८ जना अनुपस्थित

हुम्ला जिल्लाका छ परीक्षा केन्द्रमा एक हजार दुई सय ३४ परीक्षार्थीमध्ये २८ जना अनुपस्थित रहेका छन् । बालमन्दिर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा दुई सय ५६ परीक्षार्थीमध्ये दुई अनुपस्थित रहेको र मानसरोवर माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक सय ८० परीक्षार्थी मध्ये पाँच परीक्षार्थी अनुपस्थित रहेको शिक्षा विकास तथा समन्वय एकाइका सूचना अधिकारी भीमराज कार्कीले जानकारी दिए।

हिमज्योति माध्यमिक विद्यालय परीक्षा केन्द्रमा दुई सय ५३ परीक्षार्थी मध्ये छ परीक्षार्थी अनुपस्थित, सूर्यदय माध्यमिक विद्यालय परीक्षा केन्द्रमा एक सय ५७ जना परिक्षार्थीमध्ये एक जना अनुपस्थित, मदानदेव माध्यमिक विद्यालय परीक्षा केन्द्रमा दुई सय ४० परीक्षार्थीमध्ये दुई अनुपस्थित र कोट माध्यमिक विद्यालय रोडिकोट परीक्षा केन्द्रमा एक सय ४८ परीक्षार्थीमध्ये चार अनुपस्थित रहेको सूचना अधिकारी कार्कीको भनाइ छ। -रासस

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *