गण्डकी सरकारसँग महावीर पुनको आक्रोश: छुट्याएको पैसा पनि दिएन

पोखरा । गण्डकी सरकारले चालू वर्षमा नवप्रवर्तन कार्यक्रमका लागि १० करोड विनियोजन गरेको छ । उक्त कार्यक्रम राष्ट्रिय आविष्कार केन्द्रसँगको समन्वय गर्ने सरकारको तयारी थियो । त्यसकै आधारमा आविष्कार केन्द्रले पोखरामा विभिन्न कामहरू अघि बढाएको छ ।

तर आर्थिक वर्ष सकिने बेलासम्म पनि विनियोजित बजेट निकासा नभएपछि आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनले सरकारसँग आक्रोश व्यक्त गरेका छन् । उनले पटक पटक सामाजिक सञ्जालमा स्टाटस लेखेर सरकारले बजेट निकासामा आनाकानी गरेको गुनासो गरेका थिए ।

तेस्रो पटक पनि उनले स्टाटस लेख्दै सरकारले धोखा दिएको आरोप लगाएका छन् । ‘मन्त्रालयकै कर्मचारीको ढिलासुस्तीका कारण हालसम्म रकम उपलब्ध भएन,’ उनले भने, ‘३ महिना कार्यविधि र मापदण्ड बनाउनै समय खर्च भयो । अहिले कर्मचारीले कागजातमै अड्को थापिरहेका छन् ।’

पुनले मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीलाई भेटेर पनि बजेट निकासाका लागि आग्रह गरेका थिए । मन्त्रालयले भने बजेट निकासाको अन्तिम चरणमा पुगेको बताए । ‘आविष्कार केन्द्रका सबै कागजात आइसकेको छ । अब अन्तिम प्रक्रियामा पुगेको छ,’ उपसचिव तोयानाथ लम्सालले भने, ‘प्रक्रियामा गइसकेको छ ।’

बजेट निकासाका लागि मन्त्रीको व्यवस्थाले बैठक डाक्न नसकेको उनको भनाई छ । सरकारले बजेट नदिने भएपछि आफ्नै नाममा रहेको जग्गा बेच्ने घोषणा पुनले गरेका थिए । तर जग्गा विक्री अझै भएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *