अन्नपूर्ण हिमालको सफाइमा निस्कियो नेपाली सेना

पोखरा । नेपाली सेनाले यो वर्ष अन्नपूर्ण हिमालको सफाइ गर्ने भएको छ । स्वच्छ हिमाल अभियान अन्तरगत सेनाका १० जनाको टोली अन्नपूर्णतर्फ लागेका हुन् ।

नेपाली सेनाको पश्चिम पृतना विजयपुरका पृतनापति दीपक कुमार बानियाँले हिमाल र बेस क्याम्पहरूमा बढिरहेको फोहोर संकलन गर्न टोली पठाइएको बताए । मानवीय क्रियाकलापका कारण अहिले हिमाली क्षेत्रमा फोहोर थुप्रिएको छ । जसले गर्दा वातावरणीय प्रदूषण बढेको छ ।

सगरमाथाबाट सुरु गरिएको सफा हिमाल अभियानलाई ८ हजार मिटर भन्दा माथिका सबै हिमालहरूमा सञ्चालन गरिने उनको भनाई छ । ‘नेपालका हिमालहरूमा थुप्रिएको फोहोर समयमा नै व्यवस्थापन गर्न सकियो भने गम्भीर प्रकृतिका वातावरणीय प्रभावबाट जोगिन सकिन्छ । सेनाले त्यही प्रभावबाट जोगाउन प्रयास गरेको हो,’ उनले भने ।

सेनाले यसअघि सन् २०२१ मा धवलागिरि र सन् २०२२ मा मनासलु हिमालको सफाइ गरिसकेको छ । १९३० को दशकदेखि सगरमाथाको आरोहण पूर्व आरोहीहरूले गर्ने पुर्वअभ्यासका क्रियाकलापहरू ८ हजार मिटर माथिका विभिन्न हिमालहरूमा केन्द्रित भएपछि बढेको फोहोर विगत ७० वर्षदेखि डम्प भइरहेको नेपाली सेनाका प्रमुख सेनानी किशोर अधिकारीले बताए । अन्नपूर्ण आरोहीहरू बढ्नु र हिमालमा फोहोर बढेको शेर्पाहरूले सुझाव दिएपछि यो वर्ष अन्नपूर्ण रोजेको सेनाले जनाएको छ ।

अभियान अन्तर्गत सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरूबाट करिब ३५ टन फोहोरहरू संकलन गरिने बताइएको छ । सेनाले सन् २०१९ देखि सफा हिमाल अभियान सुरु गरेको हो । अन्नपूर्ण सफाइ टोलीलाई पोखरा महानगरपालिको बिदाइ गरेको छ ।

महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरको झण्डा सफाइ टोलीको संयोजक क्या.भीम बहादुर भुजेललाई हस्तान्तरण गरेर बिदाइ गरेका हुन् । आचार्यले पोखराको पहिचानसँग जोडिएका हिमालहरूको सफाइ अभियानमा पोखरा महानगरपालिका साथमै रहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *