१० हजार ऋण फिर्ता नगरेपछि महिलाको हत्या

पोखरा । सापटी लगेको १० हजार रुपैयाँ फिर्ता नगरेपछि पोखराकी एक महिलाको हत्या भएको छ । पोखरा महानगरपालिका ३३ बाघमारा बस्ने ४४ वर्षीया शान्ति श्रेष्ठको हत्या भएको हो ।

काभ्रेको पाँचखाल ५ घर भई पोखरा घारीपाटनमा बस्दै आएका प्रकाश सुनारलाई श्रेष्ठको हत्या आरोपमा तनहुँको थप्रेकबाट प्रहरीले पक्राउ गरेको हो।

सापटी लगेको १० हजार फिर्ता नगरेपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको तनहुँ प्रहरीले जनाएको छ । हत्यापछि श्रेष्ठले लगाएको गरगहना र प्रयोग गर्ने मोवाइल समेत खोसिएको थियो । गरगहना महेन्द्रपुल स्थित रजनी सुनचाँदी पसलमा लगेर विक्री गरेको अनुसन्धानले देखाएको छ ।

सुनपसले रवीनकुमार गहतराज समेत प्रहरी नियन्त्रणमा छन् । दुबैजनालाई ७ दिनको म्याद थपि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । तनहुँको म्याग्दे ४ मा रहेको पिपलटारी खानेपानी टंकीबाट वितरण भएको पानीमा दुर्गन्ध आएपछि टंकी खोलेर हेर्दा महिलाको शव भेटिएको हो ।

श्रेष्ठ २१ दिनदेखि परिवारको सम्पर्क बाहिर थिइन् । हातमा भएको खत हेरेर परिवारले उनको शव पहिचान गरेको हो । श्रेष्ठ पछिल्लो समय अमरसिंह चोकमा फलफूल व्यापार गर्दै आएकी थिइन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *