निजीक्षेत्रको सम्मान विना आर्थिक विकास असम्भव : उपाध्यक्षका प्रत्याशी हेमराज ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्यम महासंघको आसन्न निर्वाचनमा वस्तुगततर्फका उपाध्यक्षका प्रत्याशी हेमराज ढकालले निजी क्षेत्रको सम्मान विना देशले आर्थिक रुपमा फड्को मार्न नसक्ने बताएका छन् ।

‘अहिले सरकारले निजी क्षेत्रको सम्मानको त कुरै छाडौँ जायज माग राख्दा पनि सुन्न छाडेको छ,’ नेपाल गलैँचा उत्पादक तथा निकासीकर्ता संघको साधारणसभामा बोल्दै वस्तुगत उपाध्यक्षका प्रत्याशी ढकालले भने, ‘जबसम्म सरकारले निजी क्षेत्रलाई साझेदारको रुपमा हेरेर सहकार्य गर्दैन तवसम्म देशमा हामीले सोचेजस्तो आर्थिक विकास हुन सक्दैन ।’

देशको उद्योग कलकारखाना स्थापना गरेर स्वदेशभित्रै रोजगारी सिर्जना नगरेसम्म देश आर्थिकरुपमा सम्पन्न हुन नसक्ने उनको तर्क थियो ।

‘अहिले देशको मुख्य पुँजीको रुपमा रहेको युवा शक्ति रोजगारीका लागि विदेश पलायन भइराखेका छन् भने उनीहरुले विदेशी भूमिमा रगत पसिना बगाएर पठाएको पैसाले देश चलाउन परेको छ,’ उनले भने, ‘रेमिटान्सबाट देश चल्नु भनेको अरुको भरमा पर्नु हो तसर्थ आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि देशभित्रै रोजगारी सिर्जना गर्नु जरुरी छ ।’

यदि कुनै कारणले वैदेशिक रोजगारीमा समस्या आयो भने देशको अर्थतन्त्र नै धराशायी हुने अवस्थामा पुग्नेसमेत उनले जानकारी दिए ।

कुनै समय निर्यातको मुख्य बस्तुको रुपमा रहेको नेपाली गलैँचालगायका बस्तुको अवस्था दयनीय बन्दै गएको भन्दै अबका दिनमा निर्यात वृद्धि गरी विदेशी मुद्रा भित्र्याउन सरकारले विशेष योजना ल्याउनु पर्ने बताए ।

‘कुनै समय कार्पेट, पस्मिना, गार्मेन्ट उद्योगले देशको भुक्तानी सन्तुलत गर्न ठूलो योगदान दिएको थियो । सोही अनुरुप रोजगारी पनि सिर्जना भएको थियो,’ उनले भने, ‘त्यस्ता बस्तु उत्पादनका लागि आवश्कय कच्चा पदार्थ उत्पादनका लागि सरकारले ध्यान नदिनुका साथै निर्यातमा समेत झण्झटिलो प्रक्रिया हुँदा अहिले नगन्य मात्रामा निर्यात हुन थालेको छ ।’

सरकारले निर्यातका सम्भावनाका क्षेत्रको पहिचान गरी त्यस्ता बस्तु उत्पादनका प्रयोग हुने कच्चा पदार्थको भन्सार छुट दिनुका साथै बैंकबाट सहुलियत ब्याजदरमा कर्जा पाउने व्यवस्था गर्नुपर्ने उनको भनाइ छ ।

कार्यक्रममा उनले आफूले निर्यात, उत्पादनमूलक, सेवा, कृषि, बैंकिङ, सीपलगायत हरेक क्षेत्रमा आवद्ध भएर काम गर्दा वस्तुगत संघहरुको समस्यालाई नजिकसँग बुझेको भन्दै उक्त समस्या समाधानका लागि पनि आफूलाई उपाध्यक्षमा जिताएर पठाउन आग्रह गरेका छन् ।

‘मैले दुई पटक वस्तुगत संघबाटै सदस्यमा चुनाव जितेर यही क्षेत्रका साथीहरुको हकहितका लागि काम गरिसकेको छु,’ उनले भने, ‘ महासंघले जिम्मेवारी दिएका हरेक क्षेत्रमा अब्बल काम गर्दै आएको र अहिलेपनि सरकारसँग मिलेर कसरी यी क्षेत्रलाई माथि उठाउन सकिन्छ भनेर छलफल गरिरहेको छु ।’

यदि आफू उपाध्यक्षमा निर्वाचित भएर गएको अवस्थामा वस्तुगत संघको समस्या बुझरे समाधान गर्ने महासंघ बनाउनेसमेत उनको प्रतिवद्धता थियो ।

यसैगरी देशको अर्थतन्त्र सुधार गर्न कर्मचारी तन्त्रमा इच्छाशक्ति हुनुपर्ने उनले बताए । देशमा समयसापेक्ष सरकारमा राजनीतिक नेतृत्व फेरिरहने भए पनि कर्मचारीतन्त्र भनेको स्थायी सरकार रहेको भन्दै उनले आर्थिक एजेन्डामा कर्मचारीले विशेष ध्यान दिनुपर्ने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *