के गण्डकीका मुख्यमन्त्रीले विश्वासको मत लिन्छन् ?

पोखरा । माओवादीले समर्थन फिर्ता लिएसँगै गण्डकी सरकार अल्पमतमा छ । पुस २५ गते माओवादी र राप्रपाको समेत समर्थनमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका हुन् । राष्ट्रपति निर्वाचन पछि फेरिएको राजनीतिक समीकरणका कारण माओवादीले उनलाई दिएको समर्थन फिर्ता लिएको हो ।

अहिले सत्ता गठबन्धनसँग २४ सीट मात्रै छ । सबैभन्दा धेरै सीट रहेको कांग्रेस प्रतिपक्षमा छ । माओवादी पनि कांग्रेसको गठबन्धनमा मिलेर प्रतिपक्षको लहरमा पुगेको छ । अहिले विपक्षी गठबन्धनसँग सभामुख छोडेर ३५ सीट छ । अल्पमतमा परेको सरकारको आगामी यात्राबारे चर्चा र चासो छ । मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिन्छन् कि राजीनामा दिन्छन् भन्ने ट्वाक्कै भन्न सक्ने अवस्था छैन ।

एमालेका नेता तथा सरकारका प्रवक्ता समेत रहेका रोशन गाहा थापा मुख्यमन्त्रीले संसद् फेस गर्ने बताउँछन् । ‘यो राजनीतिक यात्रा हो । यस्ता उतारचढाव र फेरबदल भइरहन्छ,’ उनले भने, ‘संविधानलाई सम्मान र मान्नुपर्ने सबैको दायित्व हो । नेपालको संविधानले जे व्यवस्था गरेको छ, त्यसै बमोजिम अगाडि बढ्छौँ । माओवादी केन्द्र बाहिरिएपनि संसदबाट नै विश्वासको मत लिएर आउने बाटो रोज्छौँ ।’

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गरेर अल्पमतमा परेको र विश्वासको मत पाउने अवस्था समेत नरहेकोले मार्ग प्रशस्त गर्न सरकारलाई सुझाएको थियो । दलका नेता सुरेन्द्रराज पाण्डेले सरकारलाई दूरगामी असर पर्ने निर्णय नगर्न समेत ध्यानाकर्षण गराएका छन् । यदि सरकारले विश्वासको मत लिने हो भने बन्द रहेको संसद् अधिवेशन सञ्चालन गर्नुपर्छ । अहिले गण्डकीको संसद् बन्द छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *