प्रतिबन्धित क्षेत्रमा हेलिकोप्टर उडान रोक्न नसकेपछि अन्नपूर्णले कानून बनाएर खोलिदियो बाटो

पोखरा । अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडाउन प्रतिबन्ध छ । रेस्क्यु बाहेकका उडान भर्न नपाइने भएपनि हेलिकोप्टर उडिरहेको छ । प्रतिबन्धित क्षेत्रमा हेलिकोप्टर उडान रोक्न नसकेपछि पालिकाले उडान खुला गर्न कानून बनाइदिएको छ ।

‘अन्नपूर्ण आधार शिविरमा हेलिकोप्टर उडान पर्यटन शुल्क कार्यविधि २०७९’ निर्माण गरेर राजपत्रमा समेत प्रकाशन गरिएको छ । चैत १३ गते उक्त कार्यविधि स्थानीय राजपत्रमा प्रकाशन भएपछि आधार शिविरमा हेलिकोप्टर उडाउन चाहने कम्पनीलाई सूचिकृत हुन पालिकाले सूचना निकालेको छ ।

‘उडान गर्न चाहने हेलिकोप्टर कम्पनीलाई आवश्यक कागजात सहित उडान सूचीकरणको लागि सूचना प्रकाशन गरिएको छ,’ सूचनामा भनिएको छ । प्रवक्ता भरतमान गुरुङले घोषित रूपमा उडान बन्द भएपनि अघोषित रूपमा खुला उडान भइरहेकोले व्यवस्थित गर्न कार्यविधि बनाइएको बताए ।

‘एकातिर घोषित रूपमा उडान बन्द गरेजस्तो तर रेस्क्युको नाममा पहुँचवालाहरूको सेटिङमा फेक रेस्क्यु उडान गरी अघोषित रूपमा खुला उडान हुँदै आइरहेको छ,’ उनले भने, ‘अब देखि व्यवस्थित एवं पालिकाको दायरा भित्र रहेर मात्र सीमित मात्रामा उडान हुनेछ ।’

हरेक दिन बढीमा १२ पटक मात्रै हेलिकोप्टर उडान भर्न पाउने व्यवस्था कार्यविधिमा उल्लेख छ । उद्धारका लागि भने गाउँपालिकाका अध्यक्षको निर्णयबाट सोभन्दा बढी उडान भर्न पाउने उल्लेख गरिएको छ । अन्नपूर्ण आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटकले एक्यापले तोकेको रुट परमिट अनिवार्य लिएको हुनुपर्ने छ । परमिट नलिएकालाई उडान गर्न नदिने गुरुङले बताए ।

उडान सूचीकरण गर्दा पर्यटन शुल्क बापत प्रति उडान १० हजार रुपैयाँ शुल्क लाग्ने छ । सूचीकरणबाट प्राप्त शुल्कको ३ प्रतिशत पर्यटन सूचना केन्द्र सञ्चालन कोषमा जम्मा गर्ने र आकस्मिक उद्धारका लागि हुने उडानमा शुल्क नलाग्ने कार्यविधिमा उल्लेख छ । उडान व्यवस्थापन तथा सहजीकरणको लागि गाउँपालिका अध्यक्षको अध्यक्षतामा एउटा समितिको परिकल्पना गरिएको छ । सबै हेलिकोप्टर कम्पनीले मासिक रूपमा आफ्नो उडान विवरण पालिकामा पठाउनुपर्ने पालिकाले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *