सामाजिक सञ्जालबाट सञ्चार माध्यम हच्किनु हुँदैन : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चार माध्यामहरुलाई युटुब, फेसबुक, टिकटकलगायतका सामाजिक सञ्जालबाट नहच्किन आग्रह गरेका छन् ।
अध्यक्ष ओलीले समाचारका स्रोतहरु टेलिभिजनसहितका सञ्चार माध्यामहरु नै भएकाले युटुब, फेसबुकलगायतका सामाजिक सञ्जालबाट हच्किन आवश्यक नरहेको बताए ।
बुधबार बुटवलमा आयोजित लुम्बिनी सामुदायिक टेलिभिजनको १७ औँ वार्षिक साधारण सभामा बोल्दै उनले सामाजिक सञ्जालहरूसँग नेटवर्किङ नहुने भएकाले पनि त्यसबाट ताजा र तत्काल ब्रेकिङ न्युजको सम्भावना नरहेको तर्कसमेत गरे ।
अध्यक्ष ओलीले नयाँ–नयाँ प्रविधि भित्र्याउन र टिमवर्कमा काम गर्न पनि समाचार माध्यामहरुलाई सुझाव दिए । विश्वमा सञ्चारका नयाँ नयाँ प्रविधिहरूको विकास भएकाले टेलिभिजनलगायतका सञ्चार माध्यामहरुले पनि त्यसको प्रयोग गर्दै अघि बढाउनुपर्ने उनले बताए ।
ओलीले २०४६ सालको परिवर्तनपछि नेपालका सञ्चार माध्यामहरुको विकासले गति लिएको पनि स्मरण गरे ।








