सत्ता गठबन्धनको बैठकमा जुटेन सहमति, दिउँसो फेरि बस्ने

काठमाडौँ । बिहान बसेको सत्ता साझेदार १० दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठक सकिएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा मन्त्रालय भागबन्डाका विषयमा छलफल भएको थियो । तर सहमति जुट्न सकेन । आजको बैठकमा पनि मन्त्रीपरिषद् विस्तार हुने सम्भावना कम रहेको बैठकमा सहभागी एक नेताले बताए ।
आजको बैठकका मंगलबार प्रधानमन्त्री प्रचण्डले प्रस्तुत गरेको ९ पेज लामो न्यूनतम साझा कार्यक्रमको विषयमा पनि छलफल भएको थियो । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका अनुसार खाना र खाजाको ब्रेक पछि पुन दिउसो ३ बजे बैठक बस्ने छ ।
यादवले मकालुखबरसँग भने, ‘पार्टीहरूमा छलफल हुन्छ । मन्त्रालयको भागबन्डा लगभग लगभग मिलेको छ । केही कुराहरू मिलेका छैनन् । त्यो मिलाउन छलफल निरन्तर छ ।’
मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे सहमति जुट्न नसकेपछि सत्ता गठबन्धनका दलबीच पुनः आज बिहानैदेखि छलफल भएको थियो । सत्ता साझेदार दलबीच मन्त्रालय बाँडफाँटमा कुरा मिल्न नसक्दा मन्त्रिपरिषद् विस्तार हुन सकेको छैन ।








