सगरमाथासहित चार हिमालबाट फोहोर संकलन गरिने

काठमाडौँ। यस वर्षको सफा हिमाल अभियान–२०२३ मा सर्वोच्च शिखर सगरमाथासहित चार वटा हिमालबाट फोहोर संकलन गरिने भएको छ। यी चार हिमालबाट करिव करिब ३५ टन फोहोर संकलन गरिने नेपाली सेनाले जनाएको छ।
नेपाली सेनाको नेतृत्वमा यस वर्षको अभियानमा सगरमाथा, ल्होत्से, बरुञ्चे र अन्नपूर्ण हिमालहरुबाट फोहोर संकलन गर्न लागिएको हो।
प्रधानसेनापति प्रभुराम शर्माले मंगलबार सफा हिमाल अभियानमा जाने नेपाली टोलीलाई झन्डा हस्तान्तरण गरे।
सरकारको राष्ट्रिय कार्यक्रम अन्तर्गत सेनाको अगुवाइमा सञ्चालन हुने उक्त अभियान सफल बनाउन वन तथा वातावरण मन्त्रालय, पोखरा महानगरपालिका, अन्नपूर्ण गाउँपालिका, कोकाकोला फाउन्डेशन, सूर्य नेपाल प्रा।लि।, युनिलिभर नेपाल, संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम, विश्व वन्यजन्तु कोष, नेपालको आर्थिक र नेपाल पर्वतारोहण संघ, हिमालयन उद्धार संघ, अनुसन्धान तथा दिगो विकास केन्द्र नेपाल लगायत संघसंस्थाहरुको सहयोग रहेको छ।
सेनाले सन् २०१९ देखि विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुसँग समन्वय र सहकार्य गरेर सफा हिमाल अभियान सञ्चालन गर्दै आइरहेको छ ।
सेनाले ‘सफा हिमाल अभियान–२०२२’ मा पनि सगरमाथाबाट फोहोर संकलन गरेको थियो।








