पहिचानवादी र प्रहरी झडप : १८ जनाभन्दा बढी घाइते, २९ राउन्ड हवाई फायर

विराटनगर । प्रदेश नामाकरणविरुद्ध आन्दोलन गरिरहेका पहिचानवादी र प्रहरीबीच विराटनगरमा झडप हुँदा दुवैतर्फका गरी २ दर्जनभन्दा बढी घाइते भएका छन् । कोशी प्रदेश नाम खारेजीको माग गर्दै विराटनगरको ‘बिग होटेल’मा रहेका सांसदहरूलाई घेर्न पुगेका प्रदर्शनकारीलाई रोक्ने क्रममा प्रहरी र प्रदर्शनकारीबीच भएको झडपमा दुई दर्जनभन्दा बढी घाइते भएका हुन् ।

आन्दोलनकारीले प्रहरीमाथि आक्रमण गर्न थालेपछि प्रहरीले बचाउ गर्दै अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले ४४ अश्रृग्यास र २९ राउन्ड हवाई फायर गरेर आन्दोलनकारीलाई तितरवितर पारेको हो । जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । प्रहरीका अनुसार आन्दोलनकारी र प्रहरी बिच भएको झडपमा प्रहरीतर्फ १२ जना प्रहरी घाइते भएका र आन्दोलनकारीतर्फ ६ जना घाइते भएका छन् ।

प्रहरीतर्फ घाइते भएकाहरूमा ३ जनालाई गहिरा चोट लागेको र बाँकी ९ जना सामान्य घाइते भएको प्रहरीले जनाएको छ । आन्दोलनकारीतर्फ ६ जनाको पारस अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले जानकारी दिए ।

मंगलबार दिउँसो विराटनगरको रोडशेष चोकमा दुई पक्षबीच झडप भएको थियो । आन्दोलनकारीले भने झडपमा एक दर्जन आन्दोलनकारी घाइते भएको दाबी गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *