धनुषामा दुर्घटना : दुई ट्रक जुध्दा तीन जनाको मृत्यु, एक गम्भीर 

जनकपुरधाम । पूर्व-पश्चिम राजमार्गस्थित धनुषाको मिथिला नगरपालिका-३, हरिहरपुरमा दुर्घटना भएको छ । बिहान दुई ट्रक जुध्दा तीन जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बिहान ४ बजे पश्चिमबाट पूर्वतर्फ गइरहेको  ना ६ ख ६५७८ नम्बरको ट्रक र विपरीत दिशाबाट आइरहेको प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक एकआपसमा जुधेर दुर्घटना भएको हो ।

ठक्करबाट ना ६ ख ६५७८ नम्बरको ट्रकका चालक सुनसरीको इनरुवाका २७ वर्षीय सागर चौधरी सोही ट्रकका सहचालक सुनसरी भरौलका ३० वर्षीय अर्जुन चौधरी र प्रदेश १-०२-००१ ख ९२९२ नम्बरको ट्रक सहचालक मोरङको बेलवारी-८ का ४४ वर्षीय लोकमान थापाको मृत्यु भएको छ  । सोही ट्रकका चालक सर्लाहीको बाग्मती-११,का नारायण श्रेष्ठ गम्भीर घाइते रहेको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक कविन राईले जानकारी दिए ।

उनकाअनुसार ठक्करबाट सख्त घाइते भएका चारै जनालाई ढल्केवरस्थित एक निजी अस्पताल उपचारका लागि भर्ना गरिएको र उपचारको क्रममा तीन जनाको मृत्यु भएको थियो । मृतक तीनै जनाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको र घाइतेको उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *