गण्डकीमा ३० दिनभित्र नयाँ सरकार

पोखरा । गण्डकीमा माओवादीले सरकारको समर्थन फिर्ता लिएसँगै अहिलेको सरकार अल्पमतमा परेको छ । एमाले, माओवादी र राप्रपाका ३२ सांसदको समर्थनमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री बनेका हुन् । माओवादीका ८ सांसदले समर्थन फिर्ता लिएपछि उनी अल्पमतमा परेका हुन् ।

६० सदस्यीय गण्डकी प्रदेश सभा रहेको गण्डकीमा सरकार बनाउनका लागि ३१ सांसदको समर्थन चाहिन्छ । अहिले अधिकारी नेतृत्वको सरकारसँग २४ सीटको मात्रै समर्थन छ । अधिकारीले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । उनले विश्वासको मत प्राप्त नगरे वा राजीनामा दिए नयाँ सरकार बन्छ । २७ सीटको कांग्रेस र ८ सीटको माओवादी विपक्षमा रहँदा उनले विश्वासको मत पाउने सम्भावना लगभग टुंगिएको छ ।

एमाले श्रोतका अनुसार अधिकारीले ३० दिन पूरै सरकार चलाउने र अन्तिम समयमा राजीनामा दिने बुझिएको छ । ‘२९ दिनसम्म यही सरकार रहन्छ । अन्तिममा राजीनामा दिनुहुन्छ,’ श्रोतले भन्यो । नयाँ गठबन्धनसँग ३६ सांसद छन् । माओवादीले आफ्नो नेतृत्वमा सरकार बन्नुपर्ने दाबी गरेको छ भने कांग्रेसले सरकारको नेतृत्व नछोड्ने बुझिएको छ ।

यद्यपि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संघ र प्रदेशसम्म सबै सरकारहरू आलोपालोमा चल्ने बताइसकेका छन् । गण्डकीमा पनि कांग्रेस र माओवादीबीच आलोपालो हुन्छ । तर पहिले कसले नेतृत्व गर्ने भन्नेमा अलमल छ । माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट समेत बाहिरिएपछि कांग्रेस-माओवादी गठबन्धनले बैठक बसेर ‘पावर शेयरिङ’ टुंग्याउने बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *