गण्डकीमा मुख्यमन्त्री को ?

पोखरा । गण्डकीमा आज माओवादी सरकारबाट बाहिरिँदै छ । राष्ट्रपति निर्वाचनपछि बनेको नयाँ गठबन्धन र त्यसको प्रभाव प्रदेशसम्म झरेपछि एमाले नेतृत्वमा रहेको गण्डकी सरकारबाट माओवादी बाहिरिन लागेको हो ।

त्यसका लागि आजै माओवादी संसदीय दलको बैठक बस्दै छ । नेता हरिबहादुर चुमानले आज दिउँसो बैठक बसेर आजै सरकारबाट बाहिरिने बताएका छन् । सरकारलाई दिएको समर्थन पनि आजै फिर्ता हुने छ । उनका अनुसार नयाँ सरकार गठन र मन्त्रालयको भागबण्डाका लागि पनि आजै कांग्रेससँग बैठक हुनेछ । मुख्यमन्त्रीको लबिङ गर्न काठमाडौँमा रहेका कांग्रेस संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे आजै पोखरा आउँदै छन् ।

नयाँ सरकारको नेतृत्व आफूले पाउनुपर्ने माओवादीको दाबी छ । ‘२ पटक एमालेलाई मुख्यमन्त्री बनायौँ, १ पटक कांग्रेसलाई बनाइसक्यौँ । अब मुख्यमन्त्री माओवादीले पाउनुपर्छ,’ चुमानले भने ।

कांग्रेसले भने आफ्नै नेतृत्वमा सरकार बन्ने बताएको छ । ‘कांग्रेस संसद्को पहिलो दल हो । मुख्यमन्त्रीमा दाबी गरिरहनु पर्दैन, स्वतः कांग्रेसले नै पाउँछ,’ नेता पाण्डे भन्छन्, ‘अब बन्ने सरकार उपधारा ३ अनुसारको हो । त्यो भनेको कांग्रेसको संसदीय दलको नेता नै मुख्यमन्त्री बन्ने हो ।’

एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थन थियो । नयाँ सत्ता गठबन्धनमा एकीकृत समाजवादी समेत ३६ सीट पुग्छ । कांग्रेस एक्लैसँग २७ सीट छ भने माओवादीको ८ र एकीकृत समाजवादीको १ सीट पनि गठबन्धनमा छ ।

धारा १६८ (१) अनुसार बहुमत प्राप्त राजनीतिक दलले सरकारको नेतृत्व गर्छ । यदि बहुमत कसैको नआए उपधारा (२) अनुसार २ वा सो भन्दा बढी दलहरू मिलेर सरकार निर्माण हुन्छ । उपधारा (३) ले अघिल्लो सरकारले विश्वासको मत नपाए संसद्मा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो राजनीतिक दलको संसदीय दलका नेता मुख्यमन्त्री बन्ने व्यवस्था गरेको छ ।

त्यसैले उपधारा (२) बमोजिमको सरकार ढल्नेबित्तिकै उपधारा (३) बमोजिम सरकार बन्छ । त्यो भनेको नेपाली कांग्रेसका संसदीय दलका नेता सुरेन्द्र राज पाण्डे सोझै मुख्यमन्त्रीमा नियुक्त हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *