गण्डकी माओवादीलाई प्रचण्डको फोन, शुक्रबार सरकारबाट बाहिरिने

पोखरा । गण्डकी प्रदेशको सरकारबाट माओवादी शुक्रबार बाहिरिने भएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोनबाट निर्देशन दिएपछि सरकारबाट बाहिरिने तयारी गरेको हो ।

‘अध्यक्ष ज्यूले निर्देशन दिनुभएको छ । हामी शुक्रबार सरकारबाट बाहिरिन्छौं र सरकारलाई दिएको समर्थन पनि फिर्ता लिन्छौं,’ दलका नेता हरिबहादुर चुमानले भने, ‘आजै बाहिरिनुपर्ने हो । साथीहरु पोखरा हुनुहुन्न रहेछ । शुक्रबार बैठक बसेर नै औपचारिक रुपमा सरकार छोड्छौं।’

शुक्रबार सबै सांसदलाई बैठकमा डाकिएको चुमानले बताए । ‘सबैजना पोखरा बाहिर हुनुहुन्छ । सबैलाई फोन गरेर बोलाएको छु,’ उनी भन्छन्, ‘शुक्रबार विहान तिर बैठक बस्छौं । दिउँसोसम्म निर्णय लिन्छौं ।’ माओवादी र राप्रपा समेतको समर्थनमा एमाले नेता खगराज अधिकारी मुख्यमन्त्री छन् । यहाँ एमालेका ४, माओवादीका २ र राप्रपाका १ मन्त्री छन् । एमालेका २२, माओवादीका ८ र राप्रपाका २ सांसदको समर्थनमा सरकार बनेको थियो ।

केन्द्रमा नयाँ समिकरण बनेपछि त्यसको बाछिटा प्रदेशसम्म झरेको हो । गण्डकीमा भने माओवादीले आफ्नो नेतत्वमा सरकार हुनुपर्ने दावी गरेको छ । तर कांग्रेसले भने प्राकृतिक न्यायको सिद्धान्त अनुसार नेतृत्वमा कांग्रेस नै रहने बताएको छ । दलका नेता सुरेन्द्र राज पाण्डे सरकारको नेतृत्व कांग्रेसले नै गर्ने बताउँछन् । ‘नेतृत्व कसको भन्ने सवाल नै छैन । कांग्रेस पहिलो पार्टी हो, उसैले नेतृत्व गर्छ,’ उनी भन्छन् ।

प्रचण्डले भने प्रदेश सरकार संघमा जस्तै आलोपालो हुने बताएका छन् । गण्डकीमा कांग्रेसको एकल २७ सीट छ । कांग्रेस र माओवादी मिलेर सुविधाजनक बहुमत पुग्छ । स्वतन्त्र चुनाव जितेका राजीव गुरुङ उर्फ दीपक मनाङे पनि एकीकृत समाजवादीमा गएका कारण सत्ता गठबन्धनसँग ३६ सीट हुन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *