पाटाको वार्षिक शिखर सम्मेलन पोखरामा हुने 

पोखरा । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) को वार्षिक शिखर सम्मेलन तथा एडभेन्चर ट्राभल मार्ट पोखरामा हुने भएको छ । आगामी मे महिनाको २९ तारिखदेखि जुन १ सम्म नेपाल सरकारको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।

सम्मेलनका लागि नेपाल पर्यटन बोर्डका अध्यक्ष तथा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिवको अध्यक्षतामा मूल आयोजक समिति गठन भएको छ भने ट्रेकिङ एजेन्ट एसोसिएसन अफ नेपाल (टान), नेपाल पर्वतारोहण संघ (एनएमए), होटल एसोसिएसन अफ नेपाल (हान) लगायतका पर्यटन व्यवसायीका छाता संगठनका अध्यक्षहरू सदस्य छन् ।

सन् १९७५ मा नेपालले पाटाको सदस्यता लिएको हो । त्यसपछि नेपालमै पहिलो पटक अहिले पाटाको शिखर सम्मेलन हुन लागेको पर्यटन बोर्ड पोखराका प्रमुख काशीराज भण्डारीले बताए । कोभिड १९ पछि उठ्दै गरेको नेपालको समग्र पर्यटन क्षेत्र र पोखराको पर्यटनको विकासका लागि यो कार्यक्रम निकै लाभदायक हुने विश्वास लिइएको छ । सम्मेलनमा १५ देशका गन्तव्य प्रमुखहरू सहभागी हुने छन् । यस्तै, एडभेन्चर ट्राभल मार्टमा विश्वभरका करिब ३०० अन्तर्राष्ट्रिय प्रतिनिधिहरूको सहभागिता रहनेछ ।

सोही अवसरमा दिगो पर्यटन, संकट व्यवस्थापन, हवाई सुरक्षा, आर्टिफिसिअल इन्टेलिजेन्स, सामाजिक सञ्जाल, साहसिक र पर्वतीय पर्यटन लगायतका विषयमा प्रस्तुतीकरण गरिने छ । कार्यक्रममा कार्यशाला र बीटूबी मार्टका साथै पाटाको कार्यकारी बोर्ड बैठक र वार्षिक साधारणसभा हुने पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले जानकारी दिए । यही सम्मेलनबाट नेपालको पर्यटन क्षेत्र कोभिड १९ अघिको अवस्थामा पुग्ने उनको भनाई छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *