गण्डकीको मुख्यमन्त्रीमा माओवादीको दाबी 

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रले दाबी गरेको छ । अहिले माओवादी र राप्रपाको समर्थनमा एमाले नेतृत्वको सरकार छ । राष्ट्रपति निर्वाचनले फेरिएको राजनीतिक समीकरणले गण्डकीको सत्ता पनि धर्मराएको छ । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीको नेतृत्वमा रहेको गठबन्धन सरकारलाई माओवादीले साथ छोड्ने लगभग पक्का छ ।

समीकरण फेरिएपछि गण्डकीको मुख्यमन्त्री माओवादीले पाउनुपर्ने संसदीय दलका नेता हरिबहादुर चुमानले बताए । उनले शीर्ष नेताहरूलाई भेटेर गण्डकीको नेतृत्व माओवादीले पाउनुपर्ने माग राखेका हुन् । ‘२ पटक एमाले र एक पटक कांग्रेस माओवादीकै साथले सरकारको नेतृत्वमा पुगेको छ । अब हाम्रो पालो हो,’ उनले भने, ‘गण्डकीको नेतृत्व यसपटक माओवादीले पाउनुपर्छ ।’

२०७४ को सरकार फेरिएर २०७८ मा नयाँ सरकार बन्दा पनि उनले मुख्यमन्त्री दाबी गरेका थिए । एउटै पार्टीको बहुमत नभएका कारण गण्डकीमा अहिले संविधानको धारा १६८ उपधारा (२) अनुसारको सरकार छ । यो सरकार ढल्दा उपधारा (३) अनुसार सरकार बन्छ । उपधारा (२) अनुसार दुई वा सो भन्दा बढी दलहरू मिलेर बनेको सरकारले विश्वास नपाए संसदमा उपस्थित सबैभन्दा ठूलो राजनीतिक दलको संसदीय दलका नेता मुख्यमन्त्री बन्ने व्यवस्था छ ।

गण्डकीमा २७ सीट सहित कांग्रेस पहिलो दल हो । ६० सदस्यीय प्रदेश सभामा सरकार बनाउन ३१ सीट चाहिन्छ । कांग्रेस र ८ सीटको माओवादी हुँदा सत्तासँग ३५ सीट पुग्छ । एकीकृत समाजवादी समेत नयाँ सत्ता समीकरणमा भएकोले एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ उर्फ दीपक मनाङेले पनि मन्त्रीमा दाबी गर्न सक्छन् । उनी मिसिँदा सत्तासँग ३६ सीट पुग्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *