भारतीय उच्च विषादीयुक्त तरकारी नेपाली भान्सामा, परीक्षण र आयात रोक्ने छैन कुनै सुरसार

काठमाडौँ । उत्पादन गरेको तरकारी बिक्री नभएको भन्दै नेपाली किसानले समय–समयमा सडकमा तरकारी फालेर आक्रोश प्रदर्शन गर्ने गरेका छन् । भारतीय तरकारीले नेपाली तरकारीको बजारलाई विस्थापित गरेकोमा उनीहरुको चित्त दुखाई पनि रहँदै आएको छ । अर्कोतर्फ भारतबाट निर्वाध रुपमा विना परीक्षण नेपाल भित्रिरहेको हरियो तरकारीमा उच्च मात्रामा विषादी र मानव स्वास्थ्यलई हानी गर्ने विभिन्न रसायन मिसिएको भन्दै आम उपभोक्ता तथा स्वास्थ्य क्षेत्रका विज्ञहरु चिन्ता जनाइरहेका छन् । हुन पनि विषादी र अनेक रासायिनिक तत्व मिसाइएको विषादीले पक्कै मानव स्वास्थ्यमा असर पु¥याउँछ ।

यही तथ्यलाई आत्मसात गर्दै यसअघि केपी शर्मा ओलीको नेतृत्वको नेपाल सरकारले केही समय भारतबाट काठमाडौँ आउने तरकारीको विषादी परीक्षण सुरु गरेको थियो । तर, पछि भारतको चर्को दबाबका कारण उक्त परीक्षण सरकारले रोक्यो । खासगरी भारत रिसाउला र ऊसँगको सम्बन्धत बिग्रिएला भन्ने डरले सरकारले विषादी परीक्षण रोकेको हो । त्यसपछि उच्च विषादीयुक्त भारतीय तरकारी निर्वाध रुपमा नेपाल भित्रिरहेको छ । खुलेआम बजारमा बिक्री भइरहेको छ ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका एक अधिकारीका अनुसार तरकारी, फलफूल तथा अन्य बालीमा करिब ३० समूहका विषादी प्रयोग गरिन्छ । तर त्यसको कति मात्रा प्रयोग भएको छ भन्ने जाँच नै नगरी भारतबाट आयात गरिएको तरकारी नेपाली बजारमा बिक्री गरिन्छ ।

नेपाली किसानले भारतबाट भित्रिने तरकारीमा अत्यधिक विषादीको प्रयोग भएको भन्दै प्रतिबन्धको माग गर्दै आएका छन् । काठमाडौँको रत्नराज्य क्याम्पस तथा शंकरदेव क्याम्पसका विद्यार्थीले पनि केही साताअघि मात्रै बाटोमा भारतीय विषदीयुक्त तरकारी पोखेर विरोध प्रदर्शन गरेका थिए । तर, सरकारले भारतको दबाब र सम्बन्ध सुधार्ने नाउमा नेपाली उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गरिरहेको छ ।

कालीमाटी फलफूल तथा बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठको तर्क भने अर्कै छ । किसानले बजार र मूल्य नपाएको भन्दै बाटोमा पोखेको तरकारीले अहिले मूल्य पाइसकेको उनी बताउँछन् । केही समयअघि चितवनका किसानले सडकमा गोलभेडा पोखेर प्रर्दशन गरेका थिए । तर, उनका अनुसार अहिले त्यही गोलभेडाको मूल्य पनि ५० देखि ६० रुपैयाँ पुगिसकेको छ ।

उनले भने, ‘किसानले प्रदर्शनसहित आन्दोलन गरेको अघिल्लो महिना हो । जुन वस्तुको बजार खोल्दै किसानले आन्दोलन गरे अहिले त्यही बस्तुको भाउ माथि आआइसकेको छ । गोलभेडाको भाउ ५०–६० पुगिसक्यो ।’

सिजनमा धेरै तरकारी उत्पादन हुँदा खपत कम हुने भएकाले तरकारीले उचित मूल्य पाउन नसकेको उनको भनाइ छ । कहिलेकाहीँ तरकारीको मूल्य कम हुँदा किसानको लगानी नउठ्ने अवस्था आउन सक्ने उनी बताउँछन् ।

उनले भने– ‘सिजनको बेला तरकारी बढी उत्पादन हुन्छ । खपत कम हुन्छ । त्यसले गर्दा बिक्री नहुने अवस्था आउँछ । त्यस्तो अवस्था आउँदा कम मूल्यमा बेच्नु भनेको लागत मूल्य पनि नउठ्ने अवस्था हो ।’

यस्तो अवस्थामा सडकमा तरकारी फालेर किसानहरूले आन्दोलन गरेको उनी सम्झन्छन् । काउली, गोलभेडा, फर्सी र मुलाको भाउ अहिले माथि उठेको उनले बताएका छन् ।

भारतबाट भित्रिने विषादीयुक्त तरबारीबारे उनी भन्छन्– ‘कतिपय तरकारी भारतबाट नल्याई नेपालका लागि अर्को विकल्प छैन । तर कतिपय तरकारी भारतबाट ल्याउन रोक्दा पनि फरक पर्दैन ।’

उनका अनुसार भारतबाट आउने तरकारीमा रोक लगाइयो भने पनि आन्तरिक क्षेत्रबाट उत्पादन भएको तरकारीले नेपाली बजारको माग धान्न सक्दैन ।

उनले भने ‘ हाम्रा आन्तरिक क्षेत्रबाट जति आपूर्ति गर्छु भने पनि सकिँदैन । सिजनमा अलिअलि उत्पादन हुन्छ । त्यो उत्पादन काठमाडौँ जस्तो ठुलो क्षेत्रको लागि १ दिनको लागि पनि पुग्दैन ।’

उनले प्याजको उदाहरण दिँदै नेपालमा प्याज उत्पादन नहुने र भारतबाट ल्याउनुबाहेक अर्को विकल्प नरहेको बताए । भारतबाट प्याज नआएको खण्डमा नेपालमा प्याजको अभाव हुने उनी बताउँछन् । उनले कालीमाटीमा मात्र नभएर देशभरि नै प्याज भारतबाट आउने बताए । प्याजमात्र नभएर हाम्रो घरमा दैनिकजसो पाक्ने आलुको अवस्था पनि त्यस्तै छ ।

श्रेष्ठका अनुसार भारतबाट महिनैपिच्छे आलु नेपाल भित्रिने गरेको छ । भन्छन्– ‘आलु महिनै पिच्छे इन्डियाबाट आउँछ । आएन भने हाम्रो आन्तरिक उत्पादनले धान्दैन ।’

भारतबाट आउने तरकारीमा रोक लगाउनु सम्भव छ ? भारतबाट आउने तरकारीमा रोक लगाउन सम्भव छ ? भन्ने प्रश्नमा श्रेष्ठले इच्छाशक्ति भएको खण्डमा सम्भव भएको बताएका छन् ।

‘सम्भव त किन नहुनु इच्छाशक्ति भयो भने सम्भव हुन्छ,’ उनले भने ।

उनले सिमीलगायतका हरियो तरकारी भने भारतबाट नल्याए पनि पनि नेपाली बजारमा कुनै असर नपर्ने उनी बताउँछन् । आन्तरिक उत्पादन भइरहे अन्य तरकारीमा पनि रोक लगाउन सकिने उनको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *