रंगेली नगरले बनाउँदैछ साढे ४ कराेडमा कोल्ड स्टोर, किसानलाई राहत हुने

विराटनगर । स्थानीय तह शक्तिशाली बन्दा त्यसको असर विकास निर्माणको काममा देखिन्छ भन्ने उदाहरण मोरङको रंगेली नगरपालिकाले दिएको छ। रंगेली नगरपालिकाले पहिलो ५ वर्षमा कामले गति लिन नसकेको आरोप खेपिरहेको अवस्थामा पछिल्लो निर्वाचन पछि गति लिएको छ । पालिकालाई कस्तो बनाउने भन्ने योजना त्यहाँ आउने जनप्रतिनिधिको हातमा पनि हुन्छ । जनप्रतिनिधिले जस्तो बनाउन चाह्यो त्यस्तै हुने कर्मचारीहरू बताउँछन् ।

स्थानीय तह कार्यान्वयनमा जाँदै गर्दा सडक चौडा गर्ने अभियान थालेका रंगेली नगरपालिकाका मेयर दिलीप अग्रवाल अहिले ती सडकहरू कालोपत्रे गर्ने अभियानमा देखिएका छन् । भौतिक पूर्वाधारसँगै किसानहरूको क्षेत्रमा काम गर्नु पर्छ भन्ने लक्ष्य सहित उनले पालिकामा संघ, प्रदेश र स्थानीय तहको साझेदारीमा चिस्यान केन्द्र (कोल्ड स्टोर) निर्माणको कामलाई तीव्रता दिएका छन् ।

स्थानीय किसानको मागको आधारमा रंगेली नगरपालिकाले ६ सय टनको कोल्ड स्टोर निर्माणको काम गरिरहेको नगरपालिकाका योजना अधिकृत कृष्ण भट्टराईले जानकारी दिए । किसानले उत्पादन गरेका कृषि उपजको व्यवस्थापन र बजारीकरणका लागि टेवा पुग्ने गरी कोल्ड स्टोर निर्माण गरिएको उनको भनाइछ । ७ करोड ४ लाख ४ हजार १३४ लागत अनुमान गरिएकोमा ४ करोड ५० लाख ८६ हजार ४९२ रुपैयाँमा ठेक्का लागेको छ ।

‘फाउन्डेसनको काम सकिएर अहिले माथिल्लो तहमा काम भइरहेको छ, उनले भने, १ करोड ९९ लाख ८६ हजार रकम पहिलो चरणमा भुक्तानी भएको छ।’

काम गरेको आधारमा भुक्तानी दिने गरिएको उनले बताएका छन् । दाप्चा सिम्पानी जेबी दोलखासँग भएको ठेक्का सम्झौतामा एसीसहितको रुमहरूको व्यवस्थापन, त्यहाँ भित्र आवश्यक पर्ने सामाग्रीहरूको व्यवस्थापनको काम पनि त्यही कम्पनीले गर्नु पर्ने सम्झौतामा उल्लेख छ। आमतोलामा निर्माण गरिएको कोल्ड स्टोर सञ्चालनमा नआएपछि पालिकाले संघ र प्रदेशसँग समन्वय गरेर पालिकासमेतको लगानीमा सित भण्डार निर्माणका कामको थालनी भएको थियो ।

२०६६/०६७ सालतिर गिरिजाप्रसाद कोइरालाले गान्धी तुलसी स्मारक चर्खा महागुठीमा शीत भण्डार निर्माणको लागि बजेट ल्याउने काम गरेका थिए । भारतीय दूतावासको सहयोगमा जिल्ला विकास समितिमा आएको रकम जिविसले महागुठीको खातामा जम्मा गरिदिएको थियो ।

भारतीय दूतावासले पठाएको रकमबाट संरचना निर्माणको काम भए पनि महागुठीले हाल्नु पर्ने रकम नहालेपछि शीत भण्डार अलपत्र परेको थियो । कति रकम त्यसरी आयो भन्ने यकिन नभए पनि आमतोलामा कोल्डस्टोर बनाउने काम महागुठीले गरे पनि त्यहाँ सञ्चालनमा आउन सकेन । भवन बने पनि त्यहाँ भित्रको सामाग्री प्रयोग र सञ्चालनमा नआएर रोकिएको थियो ।

सुरुमा रंगेली नगरपालिकाले त्यही भवनमा शीत भण्डार सञ्चालन गर्ने भनेर अध्ययन गरेको भए पनि पछि प्राविधिक रूपमा धेरै महँगो पर्न जाने भएपछि आफ्नै भवन निर्माण गरेर शीत भण्डार सुरु गर्ने निर्णय गरेको नगरपालिकाले जनाएको छ । पुरानो बनेको ठाउँमा सञ्चालनको लागि महँगो पर्ने भएपछि किसानहरूको लागि लक्षित गरेर शीत भण्डार निर्माणमा संघ र प्रदेश सरकारसँग समन्वय गरिएको भएको रंगेलीका मेयर दिलीप अग्रवालले जानकारी दिए ।

‘त्यहाँको भवनमा वार्षिक २ लाख भाडा तिर्ने गरी २५ वर्षका लागि नगरपालिकाले लिजमा लिने कुरा थियो, मेयर अग्रवालले भने, संरचना व्यवस्थापन गर्नका लागि मात्र ७ करोड ५० लाख लाग्ने भएपछि संघीय सरकारले रकम पठाएको र प्रदेश सरकारले पनि सहयोग गरेपछि अहिले आफैँले काम थालिएको छ ।’

सुरुमा शीत भण्डार निर्माणका लागि संघीय सरकारले १ करोड ४ लाख दिने अनुदान दिएपछि यसलाई बनाउन सहज हुने ठानेर निर्माणको काम सुरु गरिएको नगरपालिकाले जनाएको छ। शीत भण्डार निर्माणको लागि प्रदेश सरकारले ३ करोड उपलब्ध गराउने सम्झौता अनुसार १ करोड ५० लाख अघिल्लो वर्ष आइसकेको छ भने यस वर्ष १ करोड ५० लाख आउने पालिकाले जनाएको छ। निर्माणको काम असार मसान्तसम्म सक्ने गरी अहिले द्रुत गतिमा काम भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *