कर्णालीमा युवा परिषद् गठनसम्बन्धी विधेयक अगाडी बढाउने मन्त्री पछाईको प्रतिबद्धता

सुर्खेत । कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री टेकराज पछाईले कर्णाली प्रदेशमा युवा परिषद् गठनसम्बन्धी विधेयक अगाडी बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

यसअघिको कार्यकालमा उक्त विधेयक मस्यौदा गरी आफैले सामाजिक विकास मन्त्रालयमा बुझाएपनि विभिन्न कारणले अगाडी बढ्न नसकेको भन्दै आफूले त्यसलाई अगाडी बढाउने तयारीमा रहेको उनले बताए ।

मंगलबार वीरेन्द्रनगरमा आयोजित ‘नीति निर्माण प्रक्रियामा युवा सहभागिता’ विषयक प्यानल छलफल कार्यक्रममा बोल्दै मन्त्री पछाइले आफू मन्त्रालयमा आइसकेपछि विभिन्न कानुन एवं कार्यविधिहरू द्रुत गतिबाट अगाडी बढाउने प्रयास गरिरहेको बताएका हुन् । कार्यक्रममा बोल्दै मन्त्री पछाइले युवाहरूलाई नीति निर्माण प्रक्रियामा धेरैभन्दा धेरै संलग्न गर्न आवश्यक रहेको बताए ।

कार्यक्रममा बोल्दै कर्णाली प्रदेश सभा सदस्य तुलसा मल्लले आफूले कर्णाली प्रदेश सभामा युवाका आवाजहरू उठाउने बताइन् । कर्णाली प्रदेश सभाका ४० जना सांसदहरूमध्ये आफू सबैभन्दा युवा र कम उमेरको रहेको बताउँदै उनले आफूले संसद्मा युवा, महिला, अल्पसङ्ख्यक, दलित लगायतका समुदायहरूको आवाज संसद्मा बोल्दै गर्दा त्यो आवाज नगुन्जिने हो कि भन्ने भय रहेको बताइन् ।

सांसद मल्लले संसद्मा आएर धेरै कुराहरू सिक्दै काम गर्दै गरेको र संसद् भनेको सिक्ने थलो रहेको समेत बताइन् । कार्यक्रममा बोल्दै युवा गैरसरकारी संस्था महासंघ सुर्खेतका अध्यक्ष रवीन्द्र चन्दले कर्णाली प्रदेशमा नीति निर्माणमा युवाहरूलाई धेरै भन्दा धेरै सहभागिता गराउन आवश्यक रहेको बताए । चन्दले त्यसका लागि आफूहरूले निरन्तर दबाब एवं पैरवी पनि गरिरहने प्रतिबद्धता व्यक्त गरे ।

प्रदेश संरचनामा युवा अध्ययन तथा बहस श्रृंखलाअन्तर्गत नेपाल लिडरसिप एकेडेमिको आयोजनामा सञ्चालित उक्त बहस कार्यक्रमको सहजीकरण मध्यपश्चिम विश्वविद्यालयका उपप्राध्यापक कमल लम्सालले गरेका थिए। कार्यक्रममा कर्णालीका करिब ६० जना युवाहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *