जुनियर उपसचिवलाई सचिवको जिम्मेवारी, सिनियर भूमिकाबिहिन

जनकपुरधाम । सिनियर कर्मचारी हुँदाहुदैँ मधेश प्रदेशको एक मन्त्रालयमा नियम विपरित जुनियर कर्मचारीलाई मन्त्रालयको सचिवको जिम्मेवारी दिइएको छ। महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा वरिष्ठ कर्मचारीलाई जिम्मेवारीविहिन बनाई कनिष्ठ कर्मचारीलाई सचिवको जिम्मेवारी दिएपछि मन्त्रालयको कर्मचारी वृतमा असन्तुष्टि बढेको छ।

केही महिना अगाडी मात्रै दशौँ तह उपसचिवमा बढुवा भएका मन्त्रालयका कर्मचारी रंजित कुमार यादवलाई सचिवको जिम्मेवारी दिइएको छ भने ४ वर्ष अगाडी नै दशौँ तह उपसचिव भएका महेन्द्र महतोलाई जिम्मेवारीविहिन बनाइएको छ । महतो ०७५ फागुन ८ मा दशौँ तह उपसचिव पदमा समायोजन भई प्रदेशमा खटाइएका छन् भने यादव ०७९ साउनमा मात्रै दशौँ तह उपसचिव पदमा बढुवा भएका हुन् ।

शिक्षा तालिम केन्द्र बारामा कार्यालय प्रमुखको रुपमा कार्यरत रहेका महतोको महिला, बालबालिका तथा युवा खेलकुद मन्त्रालयमा सरुवा भएपछि उनी ०७९ पुष ४ मा मन्त्रालयमा हाजिर भएका थिए । उनलाई मन्त्रालयमा योजना महाशाखाको जिम्मेवारी दिइएको भएपनि पछिल्लो तीन महिना यता जिम्मेवारीविहिन बनाइएको छ। एउटै कार्यालयमा दुईजना समान तहको कर्मचारी कार्यरत रहेको खण्डमा सिनियर कर्मचारी स्वतः कार्यालय प्रमुख हुने नियम रहेपनि यहाँ आफूलाई अपमानपूर्वक अन्यायमा पारिएको महतोले बताए।

सचिव यादव भने थप जिम्मेवारीमा प्रदेश सभाको सचिवको रुपमा पनि कार्यरत छन्। एकै जना कर्मचारीले दुई दुई वटा कार्यालयको प्रमुखको जिम्मेवारीमा छन् भने उनी भन्दा पनि सिनियर कर्मचारीलाई जिम्मेवारीविहिन बनाई थन्काइएको छ।

सचिव यादवले मन्त्रालयमा हाजिर पनि गरिरहेका छैनन्। मन्त्रालयमा कुनै कुनै पनि बेला आएपनि सचिव यादवको अधिकांश समय प्रदेश सभामै बित्ने गरेको छ । सचिव यादवले मन्त्रालयमा हाजिर नगरिरहेको र बिना हाजिर नै मन्त्रालयको खाताहरु सञ्चालन गरिरहेको उपसचिव महतोले जनाए।

सचिव यादव मुख्यमन्त्री सरोज कुमार यादवको विश्वासपात्र मानिन्छन् । मुख्यमन्त्री यादव यसअघि सभामुख हुँदा पाँच वर्ष सचिव यादव प्रदेश सभाका सचिव थिए । उनी त्यतिखेर नवौँ तहका उपसचिव थिए । त्यतिखेर पनि उनी भन्दा सिनियर कर्मचारीहरु हुँदाहुँदै सिनियरहरुलाई पाखा लगाउदै उनलाई नियम विपरित जर्बजस्ती प्रदेश सभाको सचिवको रुपमा जिम्मेवारी दिइएको नाम उल्लेख नगर्ने सर्तमा प्रदेश सभाकै कर्मचारीहरु बताउँछन् ।

यस विषयमा आफूले दुई दुई चोटी प्रमुख सचिवकोमा लिखित निवेदन नै दर्ता गराएको पनि हालसम्म कुनै सुनुवाई नभएको उपसचिव महतोले गुनासो पोखे । उनले आफू स्वतः सचिवको जिम्मेवारी पाउनुपर्ने हकदार भएको बताए । आफूलाई सचिवको जिम्मेवारी नदिइए आफू भन्दा सिनियर कर्मचारी सचिवको रुपमा मन्त्रालयमा खटाइए काम गर्न सहज वातावरण निर्माण हुने बताए ।

महतो र यादव दुबै प्रदेशका कर्मचारी हुन् । यादव यसअघि संघमा हुँदा संसद सेवाका कर्मचारी थिए । पछि प्रदेशमा समायोजन हुँदा सेवा परिवर्तन भई प्रशासन सेवामा आएका थिए । महतो संघमा हुँदा शिक्षा सेवामा थिए भने प्रदेशमा समायोजन हुँदा पनि शिक्षा सेवामै छन् । महतो यसअघि पनि विभिन्न जिल्लाको जिल्ला शिक्षा अधिकारीको भूमिका निर्वाह गरिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *