मध्यपहाडी लोकमार्गको रुटमा पोखरेलीको आपत्ति, रुट फेर्न माग गर्दै आन्दोलन

पोखरा । पुष्पलाल मध्यपहाडी लोकमार्गको रेखांकन गलत हिसाबले गरिएको भन्दै पोखराका नागरिक आन्दोलित भएका छन् । कास्कीको याम्दीदेखि भैंसेसम्मको ट्रयाक लामो विवादपछि टुंगिएको थियो । हाल भैंसेबाट मौजा हुँदै अर्मलाबाट बाटुलेचौरदेखि याम्दी छुने गरी रुट कायम गरिएको छ ।

तत्कालीन जनप्रतिनिधिले हचुवाका भरमा नक्साङ्कन गरेको र आफुहरुको उठिबास लाग्ने भन्दै नागरिकहरु आन्दोलित भएका हुन् । अहिलेकै रुटमा ट्रयाक खोल्दा पोखरा १६ र १९ का २ सय ५० भन्दा बढि घरधुरी प्रभावित हुने उनीहरुको गुनासो छ ।

शैक्षिक, धार्मिक, सामाजिक तथा पर्यटकीय महत्व बोकेका महत्वपूर्ण क्षेत्रहरुको अस्तित्व समेत नरहने अवस्था भएकोले पुनविचार गर्न स्थानीयको माग छ । कालिखोला देखि महेन्द्रगुफा, चमेरे गुफा हुँदै गण्डकी बोर्डिङ सम्मका क्षेत्र भित्र बढी असर पर्ने वडा नम्बर १६ का अध्यक्ष अमृत तिमिल्सिनाले जानकारी दिए ।

स्थानीयले राजमार्ग पिडित संघर्ष समिति पनि गठन गरेका छन् । त्यस क्षेत्रको तत्कालीन तथा दीर्घकालीन असरलाई मध्यनजर गर्दै रेखांकित लोकमार्गको विकल्प तत्काल पहिचान गरी राष्ट्रिय गौरवको आयोजना समयमै सम्पन्न गर्न आफूहरुको माग रहेको समितिका संयोजक गोबिन्द बस्नेतले जानकारी दिए । उक्त खण्डमा ठेक्का सम्झौतासमेत भैसकेको छ । पीडितहरुले मंगलबार सडकमा प्रदर्शन गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *