राष्ट्रपतिको क्षेत्रमा को लड्छ कांग्रेसबाट चुनाव ? 

पोखरा । लगातार ७ पटक एउटै उम्मेदवार भएपछि पुस्तान्तरण नभएको तनहुँ क्षेत्र नम्बर १ मा कांग्रेसबाट अब दोस्रो पुस्ताका नेता उम्मेदवार बन्ने भएका छन् ।

राष्ट्रपति रामचन्द्र पौडेल २०४८ देखि अहिलेसम्म लगातार उम्मेदवार बने । उनी १ पटक पराजित भए भने ६ पटक विजयी भएका थिए । उनी उम्मेदवार बन्दा अन्य आकांक्षीहरु टिकटबाट विमुख हुनुपर्‍यो । सोही क्षेत्रका केही नेताहरू फरक निर्वाचन क्षेत्रबाट चुनावमा उठे । अहिले पौडेल राष्ट्रपति भएपछि खाली भएको तनहुँ १ मा कांग्रेसबाट दोस्रो पुस्ता नेताहरू टिकटका लागि लबिङ गरिरहेका छन् ।

सरकारले तनहुँ सहित रिक्त रहेका नेपालका तीनै क्षेत्रमा वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ । तनहुँमा उम्मेदवारका आकांक्षी बढेका छन् । मंसिरमा सम्पन्न निर्वाचनकै समयमा बलियो दाबेदारी देखाएका केन्द्रीय सदस्य गोविन्द भट्टराई अहिलेका प्रमुख दाबेदार हुन् ।

केन्द्रीय सदस्य ध्रुव वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोखरेल, गण्डकी प्रदेश कार्य समिति सदस्य लक्ष्मी आचार्य, पूर्व सभापति रघुनाथ पौडेल, क्षेत्रीय सभापति श्याम मौरती, गण्डकी प्रदेशका पूर्व मन्त्री डोवाटे विक, नेविसंघका पूर्व महामन्त्री दीपक भट्टराई, डा.शेषरमण न्यौपाने लगायतले आकांक्षा देखाएका छन् ।

नेताहरू दैनिक जसो सभापति शेरबहादुर देउवालाई भेट्न हुल लिएर पुग्छन् । श्रोतका अनुसार भट्टराईलाई नै टिकटको लागि देउवाले ग्रीन सिग्नल दिइसकेका बताइएको छ । उनी सार्वजनिक कार्यक्रमहरूमा निरन्तर पुग्न थालेका छन् । भट्टराई क्षेत्र केन्द्रित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *