जसपाकी शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित


काठमाडौँ । जनता समाजवादी पार्टीकी मञ्जु शर्मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएकी छन्।
निर्वाचन आयोगले आज सोमबार समानुपातिक सूचीमा रहेकी उनलाई निर्वाचित गरेको प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए ।
जसपाकी समानुपातिक सांसद शहनाज रहमानको फागुन १३ निधन भएको थियो ।
उनको निधन भएपछि आयोगले बन्द सूचीको क्रम ५३, महिला, समावेशी समूह मुस्लिम, समावेशी समूहभित्रको प्राथमिकता क्रम २ मा रहेकी शर्मालाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको घोषणा गरिएको हो ।
निर्वाचित भएकी शर्माको नामावली राजपत्रमा प्रकाशन गर्ने र प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा ३८ को उपदफा (२) सँग सम्बन्धित अनुसूची–३० बमोजिमको प्रमाणपत्र प्रदान गर्ने निर्णय गरिएको सहायक प्रवक्ता अर्यालले बताए ।
प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको निर्णयको जानकारी संघीय संसद् र सम्बन्धित दललाई दिइने समेत आयोगले जनाएको छ ।
भक्तपुरमा आयोजित पिकनिकमा गएको बेलामा हृदयाघात भएपछि उनलाई अस्पताल लगिएको थियो
उपचारको क्रममा मध्यपुर ठिमी अस्पतालमा उनको निधन भएको थियो ।
