८ महिनामा गण्डकीको बजेट खर्च जम्मा २५ प्रतिशत !

पोखरा । चालू वर्ष लागेको ८ महिना पूरा भयो । अब ४ महिनामात्रै बाँकी छ, चालू आर्थिक वर्ष । फागुन मसान्तसम्म गण्डकी प्रदेशको बजेट खर्च २५ प्रतिशत मात्रै भएको छ । चालूतर्फ ४ अर्ब ८७ करोड ११ लाख खर्च भएको छ भने पुँजीगत तर्फ ४ अर्ब ९४ करोड ७ लाख खर्च भएको छ ।

चालूमा ३० प्रतिशत र पुँजीगतमा २२ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । चालू वर्षका लागि सरकारले ३५ अर्ब ९० करोडको बजेट ल्याएकोमा हालसम्म ९ अर्ब २ करोड खर्च भएको छ । हालसम्म सरकारले २ खर्व मात्रै आन्तरिक राजश्व संकलन गरेको छ । यो वर्ष ५ अर्ब ८१ करोड आन्तरिक राजश्व संकलन गर्ने सरकारी लक्ष्य छ ।

सवारी साधन कर बाँडफाँटबाट ४० करोड प्राप्त गरेको छ । चालू वर्षमा ७२ करोड यो शीर्षकमा आम्दानी गर्ने लक्ष्य छ । आन्तरिक राजश्व ३४ प्रतिशत मात्रै प्राप्त भएको र लक्ष्य अनुसार प्राप्त गर्ने सम्भावना न्यून हुँदै गएको अर्थविद्हरू बताउँछन् ।

सरकारको बजेट खर्च निकै न्यून छ । यो वर्ष ८० प्रतिशत खर्च गर्ने लक्ष्य लिएर बजेट बनाएको सरकारले निर्धारित लक्ष्य पूरा गर्ने सम्भावना करिब छैन । अर्थ सचिव विष्णु प्रसाद शर्माका अनुसार भर्खरै विनियोजन ऐन संशोधन भएकोले अबका महिनामा खर्च बढ्ने छ ।

नयाँ सरकार आएपछि ऐन संशोधन गरिएको छ । सोही अनुसार नयाँ योजना थप्ने र बजेट रकमान्तर गर्ने काम भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *