उपराष्ट्रपतिमा निर्वाचित भए संविधानको रक्षा मेरो पहिलो प्राथमिकता हुनेछ : रामसहाय यादव


काठमाडौँ । जसपाका सांसद तथा उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले उपराष्ट्रपतिमा आफू विजयी भएमा राष्ट्रिय एकताको प्रवर्द्धन र संविधानको रक्षा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
शुक्रबार उपराष्ट्रपतिका लागि आफ्नो मतदान दिइसकेपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै यादवले संविधानको पालना गर्ने कुरालाई पहिलो प्राथमिकतामा राख्ने र इमानदारितापूर्वक जनताको पक्षमा काम गर्ने बताएका हुन् ।
यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दाबी गर्दै भने, गठबन्धनको तर्फबाट सर्वसम्मत उम्मेदवार म नै हो । संविधानमा राष्ट्रपति/उपराष्ट्रपतिको काम कारबाहीको बारेमा उल्लेख गरिएको छ । राष्ट्रिय एकताको प्रवर्द्धन, संविधानको रक्षा गर्नेछु । संविधानको पालना गर्ने कुरामा मेरो प्राथमिकता हुनेछ ।
साथै यादव भन्छन्, नेपाललाई समतामूलक समृद्ध मुलुकको रूपमा विकसित गर्न मेरो भूमिका रहनेछ । म इमानदारितापूर्वक जनताको पक्षमा काम गर्नेछु । अब हाम्रो पूर्ण विश्वास छ, गठबन्धनका सबै सदस्यहरूले मत दिएर मलाई नै जिताउनु हुनेछ ।
त्यस्तै १० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झाको पनि उम्मेदवारी रहेको छ भने यता नेकपा एमालेको तर्फबाट अष्टलक्ष्मी शाक्यको उपराष्ट्रपति पदमा उम्मेदवारी रहेको छ ।
