ऊर्जा खपत घटाउने उपाय खोज्दै उद्योगी 

विराटनगर । उद्योग प्रतिष्ठानहरूमा ऊर्जा दक्षताको महत्त्वका सम्बन्धमा उद्योग संगठन मोरङ र नेपाल उद्योग वाणिज्य महासंघ ऊर्जा दक्षता केन्द्रको उद्योगीहरूको लागि अभिमुखीकरण गरेको छ । विराटनगरमा भएको कार्यक्रममा विभिन्न उद्योग प्रतिष्ठानका सञ्चालक तथा व्यवस्थापकको सहभागिताका रहेको थियो ।

संगठनका उपाध्यक्ष नन्दकिशोर राठीले उद्योगहरूले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा खेर गइरहेको ऊर्जाको व्यवस्थापनका साथै यथार्थपरक ऊर्जा बचतको उपायहरू खोजी गरी सुधार गर्नसके वार्षिक रूपमा लाखौँ रकम बचत गर्न सफल हुने बताए । उनले उद्योगहरूको बढ्दो उत्पादन लागत घटाउन खेर गइरहेका ऊर्जाको समुचित व्यवस्थापन गरी हाल प्राप्त ऊर्जाबाट बढी भन्दा बढी उत्पादकत्व लिन उद्योग व्यवसायहरू केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जि.आई.जेडका कम्पोनेन्ट म्यानेजर सञ्जय गोर्खालीले ऊर्जा उपभोगका सन्दर्भमा आगामी दिनहरूमा आउन सक्ने नीतिलाई ध्यानमा राखी सोही अनुरूपको ऊर्जा बचतका विधिहरू अपनाउन उद्योगी व्यवसायीहरूलाई आग्रह गरे । जि.आई.जेडले निजी क्षेत्रका उद्योग व्यवसायलाई कानुनी र संस्थागत रूपमा सहयोग पुर्‍याउने गरी कार्ययोजना तयार गरिरहेको जानकारी गराउँदै उनले ऊर्जा दक्षता सम्बन्धी कार्यक्रम देशव्यापी रूपमा लैजाने तयारी भईरहेको बताए ।

जि.आई.जेडका वरिष्ठ ऊर्जा दक्षता विशेषज्ञ ज्ञानेन्द्र उपाध्यायले उद्योगको उत्पादन लागतमा ऊर्जाको मूल्य न्यूनीकरणका लागि उद्योगीहरूलाई ईनर्जि अडिट गर्न सुझाव दिए । उनले उद्योग प्रतिष्ठानले खपत गरिरहेको ऊर्जाको मापन गरी न्यूनीकरणका उपाय अवलम्बन गरेका उद्योगहरूको प्रतिस्पर्धी क्षमता अभिवृद्धि भएको उदाहरण प्रस्तुत गरे ।

कार्यक्रममा राष्ट्रिय वाणिज्य बैंक काठमाडाैँका प्रवन्धक होमराज भट्टराईले वाणिज्य बैंकले ऊर्जा दक्षता कार्यक्रम लागु गर्ने उद्योगहरूका लागि बैंकले के कस्ता व्यवस्था गरेको छ जानकारी गराए । रिप-ग्रिनका ऊर्जा सल्लाहकार सुदन कायस्थले औद्योगिक क्षेत्रले हाल खपत गरिरहेको ऊर्जाका सन्दर्भमा अवधारणा प्रस्तुत गर्दै गरेका थिए । उनले जि.आई.जेडले सन २०२४ सम्म नेपालका पचास भन्दा बढी उद्योगमा निःशुल्क ऊर्जा परीक्षण गर्ने कार्यक्रम तय भएको र यसै सन्दर्भमा अभिमुखीकरण कार्यक्रम आयोजना गरिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ अधिकृत मिलाव श्रेष्ठले विश्वका अधिकांश मुलुकले ऊर्जा खपत घटाउने आयामहरूलाई प्राथमिकता दिइरहेको अवस्थालाई मध्यनजर गरी महासंघले उर्जा दक्षता केन्द्र मार्फत औद्योगिक कोरिडोर भएका स्थानहरूमा यस प्रकारको कार्यक्रमहरू सञ्चालन गरिरहेको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *