पोखरा आउनेहरू किन चढ्दैनन् जहाज ? चार दिनमै बन्द भयो पोखरा-भद्रपुर उडान

पोखरा । २०७६ माघ २० गते पोखरादेखि विराटनगर हवाई उडान सुरु भयो । केही दिन उडान गरेपछि यात्रु अभाव भन्दै उक्त रुटमा उडान रोकिएको छ । २०७८ भदौ २० गते पोखराबाट सिमरा उडान सुरु भयो । तत्कालीन पर्यटन मन्त्री मणिभद्र शर्मा सहितको भीआइपी टोली उडान उद्घाटनको अवसरमा सिमरा घुम्न गए । केही समय फ्लाइट भयो पनि । अहिले त्यहाँ उडान हुँदैन ।

२०७८ फागुन १८ गते पोखरा-धनगढी उडान सुरु भयो । सरकारी प्रतिनिधि सहितको उच्च पदस्थ टोली धनगढी घुम्न गए । केही दिन प्लेन चल्यो, अहिले चल्दैन । २०७८ चैत २२ देखि पोखरा-जनकपुर उडान भयो । पहिलो उडानमा गण्डकीका तत्कालीन मुख्यमन्त्री कृष्णचन्द्र नेपाली सहित, अर्थमन्त्री र पर्यटनमन्त्री जनकपुर भ्रमणमा गए ।

उक्त भ्रमणमा साढे ३ लाख हाराहारी खर्च गण्डकी सरकारको कोषबाट भएको छ । २०७६ भदौ २७ गते मनाङको हुम्डेमा उडान भ¥यो । २०३९ सालमा निर्माण भएको विमानस्थलमा २०७० सालसम्म साताको २ दिन उडान हुन्थ्यो । त्यसपछि बन्द उक्त विमानस्थल गण्डकी सरकारले सञ्चालनमा ल्याउने निर्णय गरेर परीक्षण उडान भरेको थियो ।

उक्त उडानमा तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ सहित पर्यटनमन्त्री र उच्च पदस्थ व्यक्तिहरू सवार थिए । हालसम्म उक्त उडान भर्दाको खर्च फस्र्यौट समेत नभएको बताइएको छ । गत फागुन २५ गते तामझामका साथ पोखरा–भद्रपुर उडान सुरु भयो । यसको चाँजो पोखरा महानगरले मिलाएको थियो । महानगरका मेयर धनराज आचार्य सहितको टोलीले भद्रपुर घुमेर फर्कियो । त्यसपछि त्यहाँ उडान बन्द भएको छ ।

यसरी तामझामका साथ सरकारी लाखौँ रकम खर्चेर सुरु गरिएका उडानहरू बन्द हुँदा सरकारकै घोषणाले गिज्याइरहेको छ । गण्डकी सरकारले हवाई मार्गबाट देशका ठूला सहरसँग पोखरालाई जोड्ने घोषणा गरेको थियो । हाल भरतपुर, भैरहवा र काठमाडौँमा नियमित उडान हुने गरेको छ ।

एयरलाइन्सले भने यात्रु नभएका कारण उडान स्थगित गरिएको बताएको छ । ‘उडान गर्न सकिन्छ । तर यात्रु नभएपछि घाटामा उडाउने कुरा भएन,’ कम्पनीहरू भन्छन्, ‘यात्रु हुन थालेपछि फेरि उडाउँला ।’ उडान सुरु गर्ने बित्तिकै बन्द हुनु दुखद हुने पर्यटन व्यवसायीहरू बताउँछन् । एयरलाइन्स कम्पनीहरूले पनि चर्चाका लागि मात्रै व्यवसायको सम्भावना नै नबुझी उडान सुरु गर्दा नियमित उडानमा समस्या परेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *