विश्वकप छनोटमा पुग्ने लक्ष्यमा नेपाल, निर्णायक खेलमा युएईको सामना गर्दै

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको अन्तिम खेलमा आज नेपालले युएईको सामना गर्दै छ । यो खेल टीयू क्रिकेट मैदानमा नेपाली समय अनुसार साढे ९ बजेदेखि शुरु हुने छ ।

युएई शीर्ष तिनमा पर्न असफल भएको र एक एकदिवसीय मान्यता पाउन पनि प्लेअफ खेल्नुपर्ने अवस्था रहेकाले यस खेलको महत्त्व देखिँदैन तर नेपालका लागि लागि भने यो खेल जित्नै पर्ने अवस्था रहेको छ । नेपालले युएईलाई पराजित गरेर विश्वकप क्वालिफायरमा सिधै छनौट हुने अवसर रहेको छ ।

जारी सिरिजमा नेपाल अपराजित रहेको छ । नेपालले पीएनजीलाई दुवै खेलमा पराजित गरेको छ भने युएईलाई पहिलो खेलमा पराजित गरेको छ । युएईले यस सिरिजमा खेलेका तीन मध्ये एक खेल जितेको छ भने दुई खेलमा हार बेहोरेको छ ।

आइसीसी विश्वकप लिग-२ मा नेपाल अहिलेसम्म ३५ खेलमा ३८ अंकसहित चौथो स्थानमा रहेको छ भने युएईको ३५ खेलमा ३३ अंक रहेको छ र लिगमा छैटौँ स्थानमा छ । पीएनजीले ३६ खेलमा ११ अंकसहित लिगमा पुछारमा रहेर आइसीसी विश्वकप लिग-२ टुंगाएको छ ।

आइसीसी विश्वकप लिगमा स्कटल्याण्ड र ओमान पहिलो र दोस्रो स्थानमा रहँदै विश्वकप क्वालिफायरमा पुगिसकेका छन् । अब शीर्ष तीनमा नामिबिया र नेपाल मध्ये एक हुने निश्चित भएको छ । नामिबिया अहिले ३६ खेलबाट ३९ अंकसहित तेस्रो स्थानमा छ । आज नेपाल र युएईबीचको खेलपछि तेस्रो स्थानमा नामिबिया र नेपालमध्ये को हुन्छ भन्ने टुंगो लाग्ने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *