विश्वकप लिग २ : पीएनजीलाई ६ विकेटले हराउँदै यूएईको जित

काठमाडौँ । नेपालमा जारी आईसीसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक सिरिजको बुधबारको खेलमा यूएईले पपुवा न्युगिनी (पीएनजी)लाई ६ विकेटले पराजित गरेको छ । आईसीसी विश्वकप लिग टू सिरिजको आफ्नो अन्तिम खेलमा पीएनजीले भने हार ब्यहोरेको छ ।

टियु क्रिकेट मैदान बुधबार भएको खेलमा पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य युएईले ३८ ओभर ४ बलमा ४ विकेट गुमाएर पूरा गरेको हो ।

युएईका लागि कप्तान मुहम्मद वासिमले ७६ बलमा १ सय १९ रन बनाए । ६१ बलमा शतक पूरा गरेका वासिमले ७६ बलमा १२ छक्का र ६ चौका प्रहार गरे ।

लिग टुमा एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्ने कीर्तिमान समेत वासिमले आफ्नो नाम गरेका छन् । यसअघि नामिबियाका उपकप्तान जेजेस्मिथको नाममा यो कीर्तिमान रहेको थियो ।

एसोसिएट राष्ट्रको तर्फबाट एकै इनिङमा सर्वाधिक छक्का प्रहार गर्नेमा वासिम दोस्रो स्थानमा उक्लिएका छन् । उनीभन्दा अघि रहेका अमेरिकाका जसकरण मल्होत्राले एकै इनिङमा १६ छक्का प्रहार गरेका थिए । मल्होत्राले ९ सेप्टेम्बर २०२१ मा यो कीर्तिमान बनाएका थिए । वृत्य अरबिन्दले ३३ रन बनाउँदा सीपी रिजवानले अविजित २९ रन बनाए । आयान खान २७ रनमा आउट भए ।

पीएनजीका लागि राईली हेरुकेले २ तथा कबुअ मारिया र जोहन कारिकोले समान ११ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पीएनजीले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ३४ रन बनाएको हो । पीएनजीका लागि कप्तान असद भालाले ९२ बलमा ६५ रन बनाए । भालाले ६ चौका र १ छक्का प्रहार गरेका थिए ।

नर्मन भानुवाले अविजित ४९ रन बनाउँदा चाल्र्स अमिनीले ४४ बलमा २२ रन बनाए । किप्लिन डोरिगाले ६० बलमा २४ रन बनाए । गौडी टोकाले १५ रन बनाउँदा राईली हेरुकेले अविजित ३३ रन बनाए ।

युएईका लागि हर्जत बिलालले ४ तथा जावर फरिद र रोहन मुस्ताफाले समान १/१ विकेट लिए । जितसँगै युएईले ३५ खेलमा १५ मा जित १७ मा हार व्यहोरेको छ । युएई ३३ अंक जोडेर अंक तालिकाको छैटौं स्थानमा रहेको छ । पीएनजीले ३६ खेलमा ५ मा जित ३० मा हार व्यहोरेको छ । पीएनजी ११ अंक जोडेर अंक तालिकाको पुछारमा रहेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *