चितुवाको आक्रमणले पोखरामा २ जना घाइते, मरेको अवस्थामा भेटियो चितुवा

पोखरा । पोखरामा चितुवाको आक्रमणबाट २ जना घाइते भएका छन् । बिहान पोखरा १८ भकुण्डेमा ध्रुव थापा लगायतले सञ्चालन गरेका तुल्सीकुञ्ज कालिज फार्ममा चितुवा पसेको र सोही फार्ममा काम गर्ने २ जनालाई आक्रमण गरेको प्रहरीले जनाएको छ ।

चितुवाको आक्रमणबाट रुपा ४ का २८ वर्षीय श्रीकृष्ण मल्ल ठकुरी र पोखरा ३२ का राजेश तिमिल्सीना घाइते भएका हुन् । उनीहरूको मेट्रोसिटी अस्पतालमा उपचार भइरहेको बैदाम प्रहरीका प्रमुख वेद जोशीले जानकारी दिए । उनका अनुसार दुवैजनाको अवस्था अहिले सामान्य छ ।

उनीहरूको गाला र आँखामा चोट छ । चितुवालाई नियन्त्रणमा लिने प्रयास गरिरहेकोमा आफै मरेको अवस्थामा झाडीमा फेला परेको प्रहरीले जनाएको छ । वन कार्यालय, स्थानीय र प्रहरीले चितुवा नियन्त्रणको प्रयास गरेका थिए । मरेको चितुवा वन कार्यालयलाई जिम्मा दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *