सवारी दुर्घटनाबाट तीन जनाको मृत्यु

विराटनगर । धनकुटा र सुनसरीको छुट्टा छुट्टै स्थानमा भएको सवारी दुर्घटनामा तीनजनाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । धनकुटाको महालक्ष्मी नगरपालिका–४ मा भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मुढे–लेगुवा सडक खण्डको को २ त ७३६ नम्बरको खाली ट्याक्टर अनियन्त्रित भई सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा चालक सङ्खुवासभा मादी नगरपालिका–९ का ३० वर्षीय गुणन विश्वकर्माको घटना स्थलमा नै मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
त्यस्तै सुनसरीमा भएको दुर्घटनामा दुईजनाको मृत्यु भएको छ। दुहबी नगरपालिका–८ मा ध। १ ख ६४७ नम्बरको बसले बाटो काट्दै गरेको पैदल यात्रीलाई ठक्कर दिएको प्रहरीले जनाएको छ । दुर्घटनाबाट सर्लाही मलङ्वा–७ भई पशुपति आईरन फ्याक्ट्रीमा काम गर्दै आएका २८ वर्षीय रवीन्द्र महराको मृत्यु भएको हो । गम्भीर घाइते भएका महराको उपचारको क्रममा विराट नर्सिङ होम विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
त्यस्तै इटहरीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएका छ । इटहरी उप–महानगरपालिका–२०मा ना ६ ख १७२४ नम्बरको ट्रकले बा ९४ प ७१६० नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो । गम्भीर घाइते भएका मोटरसाइकल चालक खोटाङ केपिलासगढि गाउँपालिका–७ का २९ वर्षीय निशान राई र मोटरसाइकल पछाडि सवार धरान–१५ कि २४ वर्षीया जेनिशा राईलाई उपचारको लागि धरान घोपा लगिएकोमा जानिसा राईको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।








