नेपालको यस्तो गाउँ: जहाँ सय वर्षदेखि ‘काटमार’ निषेध छ

पोखरा । पशुपक्षीको काटमार गर्न पाइँदैन । सिकार खेल्ने त परको कुरा भयो । भीर मौरीको मह समेत काढ्न नपाउने नियम छ । जंगलमा डढेलो लगाए कारबाही हुन्छ ।

अझै रोचक के छ भने, मासु खाने प्रयोजनका लागि र सोही प्रयोजनका लागि बेच्ने उद्देश्यले पशुपालन गर्न पाइँदैन । नपाल्ने र नकाट्ने मात्रै होइन, उक्त गाउँको बाटो भएर बध गर्ने पशुवस्तु हिँडाउन पनि पाइँदैन । गाउँलेहरूले काम गर्न नसक्ने, उमेर ढल्केको जनावरलाई नमार्ने र मासु खाने व्यक्तिलाई नबेच्ने प्रतिबद्धता जनाएका छन् ।

गाउँले जस्तै त्यहाँ काम गर्न जाने कर्मचारी र घुम्न जाने पर्यटकले पनि सोही नियम पालना गर्नुपर्छ । चीनसँग सीमा जोडिएको उत्तरी गोरखाको छेकम्पार र चुम्चेत क्षेत्रमा यति कट्टर नियम पालना गर्न थालेको १ सय ३ वर्ष पूरा भयो । अहिंसाको १ सय वर्ष पुगेको अवसरमा अहिंसा शतक महोत्सव मनाउन लागिएको छ ।

सन् २०२० मा अहिंसा महोत्सव मनाउने योजना भएपनि कोभिडको कारण स्थगित गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिए । ‘मासु खानै पाउँदैनौँ भन्न मिल्दैन । खान मन लाग्नेले खान्छन् । तर जहाँ गएपनि आफैँले हत्या चाहिँ गर्दैनन्,’ उनी अघि भन्छन्, ‘अहिलेका पुस्ताले झनै कट्टर भएर नियम मानेका छन् । यो अझै सयौँ वर्षसम्म चल्छ ।’

कसैले हत्या हिंसा गरे कारबाही हुन्छ । सय वर्ष देखि नै हिंसा नगर्ने नीतिलाई उनीहरूले निरन्तरता दिइरहेका छन् । त्यहाँ होटलहरु छन्, तर मासु पाइँदैन । चुमनुब्री गाउँपालिका ७ का वडाध्यक्ष टसी दोर्जे लामाले गाउँको आफ्नै विशिष्ट नियम राखेर अहिंसा क्षेत्र घोषणा गरिएको बताए ।

नयाँ पुस्ताले पनि अहिंसा क्षेत्रको नियमलाई अनुशासित भएर पालना गर्छन् । गाउँलेहरूले हिंसा गर्न नपाइने ठाउँको चार किल्ला नै तोकेका लामाले बताए । ‘लोक्पादेखि तिब्बतको सीमानासम्म काटमार गर्न पाइँदैन । पासो थाप्न पनि पाइँदैन,’ उनले भने, ‘यो नेपालकै उदाहरणीय ठाउँ हो । भावी पुस्ताले पनि यही गर्छन् । अहिले पनि यही भइरहेको छ ।’

काटमार नगरेपनि त्यहाँका केहीले मासु चाहिँ खान्छन् । तर छेकम र चुम क्षेत्रका नागरिकहरू गाउँमा हुँदा मात्रै होइन, बाहिरतिर जाँदा पनि आफैँ पशुपक्षीको हत्या गरेर मासु खाँदैनन् । गाउँका कसैले हत्या हिंसा गरे कारबाही हुन्छ । २०६९ पछि चुम्चेत पनि अहिंसा क्षेत्रमा समाहित भएको छ । धेरै पहिले उत्तरी गोरखाका धेरै गाउँहरू अहिंसा क्षेत्रका रूपमा थिए । पछि नियम तोडिएको र अहिले बिस्तारै पहिलेकै अवस्थामा फर्किन थालेका छन् ।

अहिंसालाई प्रवर्द्धन गर्ने र पर्यटकलाई आफ्नो छुट्टै पहिचानबारे जानकारी दिन महोत्सव आयोजना गरिएको स्थानीयले बताएका छन् । छेकम्पारको राजेन गुम्बामा आगामी वैशाख ६ गतेदेखि ९ गतेसम्म चुम शताब्दी श्याग्या (अहिंसा) महोत्सव हुन लागेको हो ।

नेपाल बुद्धको जन्मभूमि भएकाले विश्वमा शान्तिको सन्देश दिन, अहिंसा क्षेत्रको चिनारी र जैविक विविधता संरक्षणमा टेवा पुग्ने उद्देश्यले महोत्सवको परिकल्पना गरिएको हो । हिंसा र सिकार नगर्ने भएपछि त्यो क्षेत्रमा वन्यजन्तु बढेका मनाश्लु संरक्षण क्षेत्र आयोजनाका प्रमुख अजित तुम्बाहाम्फे बताउँछन् । मारकाट छैन । हिउँ चितुवा र नाउर झारल घरघरमै आउँछन् । एकदम नजिकबाट वन्यजन्तु देखिने ठाउँ भनेकै चुम र छेकम क्षेत्र हो । जनावर हातहातै आउँछन्,’ उनी भन्छन्, ‘जहाँ काटमार हुन्छ त्यहाँबाट त होनि पशुवस्तु भाग्ने । माया गरेपछि उनीहरू पनि मान्छेको नजिकै आइहाल्छन् ।’

वि.सं १९७७ सालको बुद्धजयन्तीमा अवतारी लामा डुक्पा लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसा सिद्धान्तको पालना गर्ने सामूहिक प्रतिबद्धता गराएपनि सोही नियम अहिलेसम्म निरन्तर चलेको जनविश्वास छ । अहिंसा क्षेत्रलाई स्थानीयले पटक पटक अनुमोदन पनि गर्दै आएका छन् । १९९६, २०२७, २०२९, २०५५ सालमा अहिंसालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका थिए ।

२०६५ सालमा तत्कालीन छेकम्पार गाविसको परिषद्ले अहिंसा क्षेत्रको चार किल्ला घोषणा गरेको थियो भने २०६९ मा चुम्चेतलाई पनि अहिंसा क्षेत्र घोषणा गरियो । २०६६ सालमै पहिलो चुम अहिंसा महोत्सव गरिएको थियो । अहिले गाउँपालिकाले पनि अहिंसा सम्बन्धी कानून गाउँसभाबाट पारित गरेर लागू गर्न थालेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *