ठगीको आरोपमा तुलसी सहकारीका सञ्चालकविरूद्ध १२१ पीडितले दिए मुद्दा

विराटनगर । विराटनगरमा रहेको तुलसी बहुमुखी बहुउद्देश्यीय सहकारी संस्थाले निक्षेपकर्ताको रकम ठगी गरेको अरोपमा ३ जनालाई पक्राउ गरी मुद्दा चलाएको छ ।  विराटनगर–२ मा कार्यालय रहेको सहकारीले बचतकर्ताको रकम ठगीको आरोपमा तीन जनालाई पक्राउ गरिएको र थप ८ जनालाई खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।  विराटनगरमा पत्रकार सम्मेलन गर्दै  जिल्ला प्रहरी कार्यालय मोरङका एसपी दीपक पोखरेलले २१ हजार ७१३ सदस्य रहेको सहकारीमा विराटनगरमा मात्र ४ हजार बढी सदस्य रहेको अनुसन्धानबाट खुल्न आएको जानकारी दिए ।  मुख्य कार्यालय मोरङको विराटनगरमा भई झापाको दमक, उदयपुरको गाईघाट र सिरहाको गोलबजारमा ३ वटा सेवा केन्द्रमार्फत यस सहकारीले कारोबार गरेको पनि प्रहरीले जनाएको छ।
प्रहरीले सहकारीका क्षेत्रीय प्रबन्धकसहित ८ जना पदाधिकारहरूका विरुद्धमा जाहेरी दरखास्त प्राप्त भएकाे जनाएको छ । उजुरी परेका मध्ये संस्थाकी उपाध्यक्ष रहेकी उर्लाबारी नगरपालिका–६ की अनिता गौतम, संस्थाकी सचिव झापाको भद्रपुर नगरपालिका–१४ की सविना न्यौपाने  र  विराटनगर २ बस्ने तुलसी सहकारी संस्था लिमिटेडका क्षेत्रीय प्रबन्धक मन्दिर खवास पक्राउ परेका छन् । उनीहरूबारे अनुसन्धान सुरू गरेकाे प्रहरीले जनाएकाे छ । अन्य ५ जना पदाधिकारीको खोजी भइरहेकाे जनाएकाे छ ।
नेपालभरि नै कार्यक्षेत्र रहनेगरि मिति २०५२ चैत १३ गते सहकारी विभागमा दर्ता भएको तुलसी बहुमुखी सहकारी संस्था तत्कालीन विराटनगर महानगरपालिका २ मा सञ्चालित छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडको देशैभरि सदस्य सङ्ख्या २१ हजार ७१३  जना रहेको  प्रहरी अनुसन्धानबाट खुलेको छ।
गत फागुन १ गतेदेखि उक्त सहकारी संस्थाको कार्यालय बिना जानकारी बन्द भएपछि समस्या सुरु भएको थियो ।  सञ्चालन समितिका सबै पदाधिकारीहरू सम्पर्क विहीन भई बचतकर्ताहरूको रकम फिर्ता नदिई फरार रहेका थिए ।  बाल बचत/ज्येष्ठ नागरिक बचत/भविष्य सुनिश्चित बचत/सुपर पेन्सन बचत/अवधि बचत/कर्मचारी चल्ती बचत/विशेष बचत/साधारण बचत लगायत खाताहरूमा बचत गर्दा तथा संस्थाको शेयर सदस्य हुँदा १५ प्रतिशत भन्दा बढी व्याज, बोनस लगायतका आकर्षक आर्थिक सुविधा पाउने आश्वासन र प्रलोभनमा पारेर ठगी गरेको आरोप बचत कर्ताले लगाएका छन्  ।
सहकारी संस्थाको केन्द्रीय कार्यालय समेत बन्द भई सञ्चालकहरू नै फरार भएपछि आफूहरू ठगीमा परेको थाहा पाएर फागुन २८ गते  १२१ जना पीडितहरूले उजुरी दिएको एसपी पोखरेलले जानकारी दिए ।
‘पहिलो चरणमा उजुरी दिनेहरू मध्ये  १२ करोड  ९ लाख ४ हजार ४ सय ८७  रूपैयाँ बराबरको रकम ठगी गरेको भनी रमा पौडेलसमेत १२१ जना पीडितहरूले ठगी कसुरअन्तर्गत प्रहरीमा जाहेरी  प्राप्त भएको छ, एसपी पोखरेलले भने, हालसम्मको प्रारम्भिक अनुसन्धानबाट योजनाबद्ध तरिकाले ठुलो रकम हिनामिना गरी संस्थाका सदस्य एवं बचतकर्तालाई ठगी गरेको देखिन आएको छ ।’
मोरङ जिल्लामा रहेको तुलसी सहकारी संस्थामा बचत गर्ने बचतकर्ताहरू, पीडितहरूले ५ दिन भित्रमा जिल्ला प्रहरी कार्यालय मोरङमा आई जाहेरी दरखास्त दिनुहुन प्रहरीले अनुरोध गरेको छ।
हाल ठगी मुद्दामा पक्राउमा परी अनुसन्धानको क्रममा रहेका  उपाध्यक्ष गौतम र न्यौपानेलाई प्रहरीले यसअघि अभद्र व्यवहार मुद्दामा अनुसन्धान गरेको थियो ।  उक्त संस्थाका केही बचतकर्ताहरू आफ्नो बचत गरेको रकमबारे बुझ्न फागुन १ गते जाँदा  अनिता गौतम र सविना न्यौपानेले बचतकर्ताहरूलाई अश्लील बोली प्रयोग गरी वादविवाद गरी हैरानी दिएको कारण उनीलाई पक्राउ गरी अभद्र व्यवहार मुद्दा दर्ता भई अनुसन्धान कार्य सम्पन्न गरेको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *