सुवासचन्द्र नेम्वाङ भन्छन् – रामचन्द्रजीलाई पूरै साथ, सहयोग रहन्छ

काठमाडौं। नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेलका प्रतिस्पर्धी नेकपा (एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले राष्ट्रपति निर्वाचनको परिणामलाई हार्दिकतापूर्वक स्वीकार गरेको बताएका छन्।

राष्ट्रपतिको आज भएको निर्वाचनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी भएपछि रासससँग कुराकानी गर्दै उनले लोकतन्त्रमा विश्वास गर्नेले प्रतिस्पर्धामा विश्वास गर्नुपर्ने धारणा व्यक्त गरे।

पूर्वसभामुख नेम्वाङले भने, ‘घोषणा भएको निर्वाचन परिणामलाई पनि मैले त्यसै रूपमा लिएको छु। राष्ट्रपतिजस्तो सम्मानित पदमा मेरा मित्र पौडेलजी निर्वाचित हुनुभएको छ, कार्यकाल सफलताका लागि मेरो बधाई र शुभकामना छ।’

जनताले जनताका लागि संविधानसभाबाट संविधान बनाएपछि राष्ट्रपतिको महत्वपूर्ण निर्वाचनको चरणबाट गुज्रिएको उल्लेख गर्दै उनले भने, ‘यो निर्वाचन सफलतापूर्वक सम्पन्न भएको छ। मलाई धेरै नै खुसी लागेको छ। यसलाई लोकतन्त्रको महत्त्वपूर्ण कडीका रूपमा म सम्झन्छु।’

जनताले हाम्रै परिवारको व्यक्ति राष्ट्रपति भएको छ भन्ने अनुभूति गर्न पाउनुपर्छ भन्नेमा जोड दिँदै संविधानसभाका उपाध्यक्ष नेम्वाङले संविधान र कानूनबमोजिम राष्ट्रपतिको भूमिका सफलतापूर्वक सम्हाल्न सुझाव दिए।

उनले भने, ‘मेरो तर्फबाट मित्र रामचन्द्रजीलाई पूरै साथ, सहयोग र समर्थन रहने छ भन्ने विश्वास दिलाउन चाहन्छु।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 15 =