भेडेटारमा ३० करोड लगानीमा सिसाको ‘स्काइ वाक’ बन्दै

विराटनगर । भेडेटारमा सिसाको ‘स्काइ वाक’ बन्ने भएको छ । सार्वजनिक निजी साझेदारी मोडलमा बन्न लागेको परियोजना ३० करोड रुपैयाँ लागतमा सम्पन्न हुने बताइएको छ  ।

वण्डर्स ग्रुप अन्तर्गत वण्डर्स एम्युजमेन्ट पार्क्स एण्ड अट्याक्सन्स प्रालिले यो  परियोजना निर्माण गरिरहेको छ । अहिले जग हाल्ने काम सकिएको कम्पनीका  अध्यक्ष प्रबिन्द्र पोख्रेलले जानकारी दिए । स्काइ वाक क्यान्टिलिभर टावरको मोडलमा ५० मिटर लामो बनाइनेछ । स्काइ वाकमा एकैपटकमा २०० जना हिँड्न सक्छन् ।

सिसाको स्काइ वाकको तल भिर भएकाले झन् ‘थ्रील’ अनुभव हुने पोख्रेल बताउँछन् । भेडेटारको हालको भ्यु टावर भएको ठाउँमा निर्माण सुरु गरिएको यस परियोजना सन् २०२३ भित्र नै सम्पन्न गर्ने लक्ष्य लिइएको कम्पनीका निर्देशक दामोदर शर्माले जानकारी दिए । परियोजना साँगुरी गढी गाउँपालिका धनकुटा र धरान उपमहानगरपालिका सुनसरीको सिमानामा पर्दछ  ।

परियोजना सञ्चालन गर्न प्रदेश लगानी प्राधिकरणले २५ वर्षको लागि अनुमति  दिएको शर्माले बताए ।  काठमाडौँको कमलादीमा हाल निर्माण भइरहेको ‘सकाई वाक टावर’ र इलामको कन्याममा निर्माण भई सञ्चालनमा आइसकेको ‘कन्याम क्लाउड’ नामको सकाई वाक पनि वण्डर्स ग्रुपले निर्माण गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *