सहकारी पीडितले घेरे पोखराका मेयरको कार्यकक्ष

पोखरा । सहकारीले बचत रकम नदिएको भन्दै पीडितहरूले पोखराका मेयर धनराज आचार्यको कार्यकक्ष घेराउ गरेका छन् । सुर्यदर्शन सहकारीका पीडितहरूले बिहीबार दिउँसो मेयर आचार्यको कार्यकक्षमा पुगेर घेराउ गरेका हुन् । उनीहरूले पटक पटक आफूहरू सहकारीबाट ठगिएको भन्दै समाधान खोजिदिन महानगरलाई आग्रह गरेका थिए । तर महानगरले सहकारी विरुद्ध कुनै कदम चालेको छैन ।

‘चलाउने अनुमति दिए पनि अनुगमन गर्नुपर्दैन ? सञ्चालक समितिलाई पक्राउ गरेर पीडितलाई न्याय दिनुपर्छ,’ उनीहरूले भने, ‘सहकारी बन्द गराएर पीडितलाई न्याय दिएको खै ? चेक साट्न जाँदा साटिएन । समितिका मान्छे सम्पर्क विहीन छन् ।’

६ महिनादेखि महानगरलाई आफूहरूले जानकारी गराए पनि कुनै एक्सन नलिएको पीडितहरूको गुनासो छ ।

‘६ महिनादेखि भनेको भन्यै छौँ । तर महानगरले झुलाएर राखेको छ,’ उनीहरू भन्छन्, ‘न्याय दिन्छौँ भनेका थिए । अहिले जाँदा पनि वास्तै गर्दैनन् ।’

उनीहरूले १ साता अघि पनि महानगरको ध्यानाकर्षण गराएका थिए । महानगरका सहकारी शाखा प्रमुख भरतराज पौडेल भने खोजी भइरहेको बताउँछन् । अहिले पोखराका अधिकांश सहकारीले बचतकर्ताको रकम फिर्ता दिन नसकेको उजुरी दैनिक जसो महानगरमा पर्ने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *