नारी दिवसमा बुद्ध एयरको उपहार !

काठमाडौँ । बुद्ध एयर नारी दिवसका अवसरमा यात्रुलाई पुस्तक उपहार दिएको छ । ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा बुधबार सांग्रिला बुक्स तथा नेपाल रिपब्लिक मिडियासँगको सहकार्यमा उपहार दिएको हो ।
बुद्ध एयरकाअनुसार महिला स्रस्टाहरुद्वारा रचित विभिन्न विधाका ३ हजार ५ सय पुस्तक यात्रुहरूलाई उपहार प्रदान गरिएको छ । पुस्तक उपहारमा १७ जना महिला लेखकका उपन्यास, जीवनी, आत्मकथा, कविता तथा राजनीतिक विषयका आख्यान तथा गैरआख्यानका पुस्तकहरू थिए ।
‘नेपाली महिला: पढ्छन् पनि, उडछ्न् पनि’ भन्ने नारासहित काठमाडौँसँगै विराटनगर, जनकपुर, नेपालगन्ज, सुर्खेत र धनगढीबाट यात्रा गर्ने यात्रुहरूलाई पुस्तक उपहार दिएको थियो । महिला यात्रु तथा महिला लेखकको सम्मानमा बुद्ध एयरको यो अभियान समर्पित छ ।
बुधबार ७ हजार २ सय ५० यात्रुले विभिन्न गन्तव्यबाट यात्रा गरेको बुद्ध एयरले जनाएको छ । त्यसमा झण्डै आधाउधी महिला यात्रु रहेका थिए ।








