यी हुन् गण्डकीमा विदेशीलाई निषेधित क्षेत्र, जहाँ छिर्नै ५० हजार तिर्नुपर्छ

पोखरा । गण्डकी प्रदेशमा विदेशी पर्यटकलाई निषेधित क्षेत्र पनि छ । यी क्षेत्रमा जाँदा उनीहरूले महँगो शुल्क तिर्नुपर्छ । नागरिक उड्डयन मन्त्रालयले मुस्ताङ, मनाङ र गोरखाका केही क्षेत्रहरू संवेदनशील रहेको भन्दै त्यहाँ जाँदा महँगो शुल्क तोकेको हो ।

अपर मुस्ताङका लोमान्थाङ गाउँपालिका, बारागुङ मुक्ति क्षेत्र गाउँपालिका र ल्हो घेकर दामोदर कुण्ड गाउँपालिकाका सबै ठाउँलाई निषेधित क्षेत्र भनेर तोकेको छ । यहाँ प्रवेश गर्दा विदेशी पर्यटकले १० दिनका लागि ५ सय अमेरिकी डलर तिर्नुपर्छ । त्यसपछि पनि घुम्ने मन भए प्रति दिन ५० अमेरिकी डलर तिरेर हिँड्नुपर्छ । यो ठाउँ अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाभित्र पर्छ ।

गोरखामा पनि निषेधित क्षेत्र छन् । मनास्लु संरक्षण क्षेत्रभित्र रहेको चुमनुब्री गाउँपालिकाका १, २, ३ र ४ नम्बर वडामा विदेशीलाई सजिलै छिर्ने र घुम्ने अनुमति छैन । त्यहाँ पनि प्रत्येक विदेशीले एक साता घुम्न जाँदा १ सय अमेरिकी डलर र त्यसपछि समय थप्न मन लागे प्रत्येक दिनको १५ अमेरिकी डलर तिर्नुपर्छ । यहाँ दुईवटा सिजनको छुट्टाछुट्टै प्रवेश शुल्क छ । सेप्टेम्बरदेखि नोभेम्बरसम्म महँगो भएपनि डिसेम्बर देखि अगस्ट सम्म केही सस्तो छ ।

डिसेम्बर-अगस्टमा एक साता घुम्नेले ७५ अमेरिकी डलर र त्यसपछि थप्न चाहे प्रतिदिन १० अमेरिकी डलर तिरे पुग्छ । यही क्षेत्रभित्र रहेका चुम भ्यालीको सिर्दिबास, लोक्पा, चुम्लिङ, छेकम्पार र निलेचुले अर्थात् चुमनुब्री गाउँपालिकाको ३, ६ र ७ नम्बर वडा घुम्दा सेप्टेम्बर देखि नोभेम्बरसम्म एक साताको ४० अमेरिकी डलर तिर्नुपर्छ भने त्यसपछिको प्रत्येक दिन ७ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टसम्म एक साताको ३० अमेरिकी डलर तथा त्यसपछि प्रत्येक दिन ७ अमेरिकी डलरका दरले प्रवेश शुल्क थपिँदै जान्छ ।

मनाङमा पनि दुई सिजनको छुट्टाछुट्टै रकम छ । नार्पाभूमि गाउँपालिकाका सबै क्षेत्र र नासों गाउँपालिकाका ६ र ७ नम्बर वडामा घुम्दा सेप्टेम्बरदेखि नोभेम्बरसम्म अलि महँगो पर्छ । एक साताको १ सय अमेरिकी डलर तथा त्यसपछि थप्नुपर्दा प्रति दिन १५ अमेरिकी डलर तिर्नुपर्छ । डिसेम्बरदेखि अगस्टको सिजनमा एक साताको ७५ अमेरिकी डलर तथा त्यसपछि दैनिक १५ अमेरिकी डलर तिर्नुपर्ने मन्त्रालयले जनाएको छ । अहिले पर्यटकको घुम्ने सिजन सुरु भैसकेको छ । पर्यटकहरू मनाङ, मुस्ताङ र उत्तरी गोरखा तर्फ डुलिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *