लिग २ – लयमा रहेको नेपालको कीर्तिपुरमा राम्रो छैन पीएनजीसँगको बिगत

आईसीसी विश्वकप क्रिकेट लिग २ अन्तर्गत अन्तिम त्रिकोणात्मक सिरिज भोली (बिहिबार)बाट सुरु हुँदैछ।
कीर्तिपुर मैदानमा हुने पहिलो खेलमा नेपालले पपुवा न्युगिनीको सामना गर्दैछ। केहीदिन अघि मात्रै दुबईमा दुवै खेलमा नेपालले पपुवा न्युगिनीलाई पराजित गरेको थियो।
लिग २ का अन्तिम ४ खेलअघि नेपाल पाँचौं स्थानमा र पपुवा न्युगिनी अन्तिम अथवा तालिकाको सातौँ स्थानमा छ। नेपालको विश्वकप छनौटको सम्भावना कायम रहँदा पपुवा न्युगिनी भने बाहिरिसकेको छ।
दुबईमा नेपालसँग दुवै खेलमा पराजित भएको पपुवा न्युगिनीले घरेलु टोली युएईलाई भने दुवै खेलमा पराजित गरेको थियो।
कीर्तिपुरस्थित क्रिकेट मैदानमा बिहान ९ बजेबाट खेल सुरु हुनेछ । नेपाल बाँकी ४ खेल नै जित्दै विश्वकप छनौटमा स्थान बनाउन चाहन्छ भने पपुवा न्युगिनी सुखद विदाई गर्न चाहन्छ।
नेपाललाई जित्नै पर्ने दबाब भएपनि पपुवा न्युगिनी बाँकी सबै खेल जित्दा पनि अन्तिममै रहने भएकाले दबाबबिहीन अवस्थामा छ।
त्यसोत कीर्तिपुर मैदानमा गत वर्ष मात्रै पपुवा न्युगिनीले सुखद नतिजा निकालेको थियो। एकदिवसीय सिरिजमा पीएनजीले क्लिन स्विप गरेको थियो । त्यतिबेला भएका दुवै खेल पपुवा न्युगिनीले जितेको थियो।
२०२२ को मार्च २५ मा नेपाल ६ रनले पराजित भएको थियो। त्यतिबेला पपुवा न्युगिनीले नेपाललाई २९२ रनको लक्ष्य दिएको थियो। तर नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ८६ रन मात्र बनाउँन सकेको थियो।
रोहितकुमार पौडेलले एकदिवसीय अन्तराष्ट्रियमा पहिलो शतक बनाए पनि टोलीलाई जिताउन भने सकेनन्। रोहितले १ सय २६ रन बनाएका थिए।
मार्च २६ मा नेपाल पुनः पराजित भएको थियो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले दीपेन्द्र सिंह ऐरीको १ सय ५ रनको सहयोगमा २ सय ७८ रन बनाएको थियो। पूरै ५० ओभरमा ८ विकेटको क्षतिमा नेपालले दिएको यो लक्ष्य पपुवा न्युगिनीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाएर पूरा गरेको थियो ।
पपुवा न्युगिनी सोही नतिजा दोहो¥याउने लक्ष्यमा भएपनि नेपाल अहिले राम्रो लयमा देखिएको छ। केहीसाता पहिले मात्रै कीर्तिपुरमा नेपालले स्कटल्याण्ड र नामिवियाजस्ता बलिया टोलीलाई पराजित गरेको थियो। हालै युएई भ्रमणमा पनि ४ मध्ये ३ खेल जितेको छ।
खेलअघिको पत्रकार सम्मेलनमा नेपालका कप्तान रोहीत पौडेलले घरेलु भूमिमा सुखद नतिजा निकाल्ने र यसका लागि टोलीले योजना बनाइसकेको बताए। यसको नतिजा बिहीबार पपुवा न्युगिनीविरुद्ध देखिने कप्तान पौडेलले बताए।








