मनाङमा पहिराेकाे जाेखिममा गाउँपालिका कार्यालय

मनाङ । २०७८ सालको बाढीले क्षतविक्षत भयो मनाङ । बढी क्षति ब्यहोर्यो नासों गाउँपालिकाले । पालिका भवन देखि बस्ती समेत बगायो । जताततै जमिन पहिरिएको छ । ठूलाठूला पहिरो अहिले पनि दर्जनौँ छन् । तत्कालीन समयमा घर क्षति भएकाहरूले विस्तारै नयाँ घर बनाएर सर्न थालेका छन् । कोही पूरानै घरलाई सामान्य मर्मत गरेर फर्किएका छन् । गाउँपालिकाले कार्यालय भवन बनाउन बाढी अघि नै जग्गा किनेको थियो । उक्त जग्गा समेत बगाएपछि सुरक्षित ठाउँ खोजेर भवन बनायो । तर सुरक्षित भनिएको उक्त ठाउँमा पनि अहिले पहिरो झर्न थालेको छ । जसका कारण पालिका कार्यालय फेरि जोखिममा परेको छ ।

वडा नम्बर ३ स्थित धारापानीमा निर्माण भएको भवनको पछाडिबाट ठुलो पहिरो झर्न थालेको हो । भवन निर्माणमा १ करोड भन्दा बढी लगानी भएको पालिका अध्यक्ष धनबहादुर गुरुङले बताए ।

‘मनाङमा अहिले सुरक्षित ठाउँ भनेर पाउन मुस्किल छ । भइरहेको जोखिममध्ये कम जोखिम भएको ठाउँमा भवन बनाएका थियौँ,’ उनले भने, ‘त्यही ठाउँ पनि अहिले पहिरिएको छ । अगाडि मर्स्याङ्दी बग्छ, पछाडि बडेमानको पहिरो झरेको छ ।’ बर्खाअघि नै पहिरो नियन्त्रण गर्न नसके पालिका भवन फेरि बगाउने उनले सुनाए ।

‘पहिरो नियन्त्रण गर्न संघ सरकारलाई गुहार्यौँ । माथिबाट ५० लाख परेको थियो । अहिले रोकिदिएको छ,’ उनी भन्छन्, ‘बर्खा अघि काम भएन भने यहाँ बस्न सक्ने अवस्था हुँदैन । संघले हाम्रो समस्या सुनेन ।’

प्रमुख प्रशासकीय अधिकृत वासुदेव भेटवालले कार्यालयको व्यवस्थापनमा समस्या भइरहेको बताए ।

‘समथर भागहरू मर्स्याङ्दीमा मिसिएका छन् । भिरालो जमिन खारेर कार्यालय बनाउनु पर्छ,’ उनले भने, ‘बाढीपछि निकै समस्या भएको छ । कतिबेला कुन ठाउँ झर्ने हो थाहा हुँदैन । साह्रै समस्या परेको छ ।’ उनले तत्कालै गाउँपालिका भवन संरक्षणका लागि संघ र प्रदेशको ध्यानाकर्षण गराए ।

‘ठुला ठुला पहिरो छन् । पालिकाको बजेटले पहिरो रोक्न सकिँदैन,’ उनी भन्छन्, ‘ठुलो बजेटको लागि संघ र प्रदेशले नै सहयोग गर्नुपर्छ । पालिकाले रिक्वेस्ट गरेका छौँ । बजेटको सुनिश्चितता भएको छैन ।’

०७८ सालको बाढीमा पालिकाको कार्यालयसँगै बैंक र अन्य धेरै घरहरू बगाएको थियो । ताल गाउँ, खोत्रो, धारापानी, बगरछाप, ताचै, दानाक्यू लगायत गाउँहरू क्षतविक्षत भएका थिए । तत्कालीन समयमा पहिरिएका सडकहरू अझै पूर्ण मर्मत भैसकेका छैनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *