विश्वासको मत लिँदै सुदूरपश्चिमका मुख्यमन्त्री, विपक्षमा उभिने मुडमा केन्द्रको साझेदार माओवादी

काठमाडौँ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज विश्वासको मत लिने तयारी गरेका छन् । सो प्रयोजनका लागि आज दिउँसो १ बजे बस्ने गरी प्रदेशसभा बैठक आह्वान गरिएको छ ।

एमालेका राजेन्द्र सिंह रावललाई नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिएपछि ठुलो दलको हैसियतमा कांग्रेसका शाहलाई २६ माघमा प्रदेश प्रमुखले मुख्यमन्त्रीमा नियुक्त गरेका थिए ।

नेकपा माओवादी केन्द्रले यथास्थितिमा विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री शाह अप्ठ्यारोमा परेका छन् । शनिबार बसेको संसदीय दलको बैठकले कांग्रेसले संवादको वातावरण नबनाएको र मुख्यमन्त्रीमा आलोपालोको विषयमा कुनै कुराकानी नभएको भन्दै यथास्थितिमा मुख्यमन्त्रीलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले पनि दलीय सहमतिको लिखित हस्ताक्षर विना विश्वासको मत नदिने अडान लिएको छ । नाउपाकी अध्यक्ष रन्जिता श्रेष्ठले शनिबार सामाजिक सन्जालमा लेखेकी छन्, ‘दलीय सहमतीको लिखित हस्ताक्षरविना विश्वासको मत दिन सकिँदैन ।’

तीन दलसँग प्रदेश सभामा ३४ प्रदेश सभा सदस्य रहेको छन् । प्रदेशमा मुख्यमन्त्रीले विश्वासको मत पाउनका लागि २७ प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *