गाउँपालिकाका अध्यक्ष र महिला पत्रकार सम्मानित

विराटनगर । अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा राजनीतिक र पत्रकारिताको माध्यमबाट समाजमा योगदान दिने दुई महिला सम्मानित भएका छन् । सम्मानित हुनेहरूमा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमयी इङनाम र पत्रकार चिना थापा रहेका छन् ।

पेसागत महासंघ जिल्ला कार्य समिति मोरङ र नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्यसमिति मोरङ तथा महिला विभागले एक कार्यक्रमको आयोजना गरी सम्मान गरेको हो ।

११३ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित महिला नेतृ सम्मान तथा शुभकामना कार्यक्रममा बोल्दै अध्यक्ष इङनामले महिलाहरूलाई अगाडि बढ्न निकै चुनौती रहेको बत्ताइन् । आफूले राजनीति गर्ने बेलामा बेलुका घरको काम गरेर दिनमा बाहिरको काम अनि पार्टीको काम पनि भ्याउने गरेको स्मरण गदै उनले महिलाको भूमिका धेरै हुने भएकाले सबैलाई एकसाथ अगाडि बढाउन सहज नहुने बताइन ।

‘घरको सबै काम भ्याएर राजनीति गर्थे, तर मैले म यहाँसम्म आईपुग्छु भनेर राजनीति गरेको थिइन्’, उनले भनिन्, ‘संगठनमा रहेर ईमान्दारीसाथ काम गर्थ्यो भने लक्ष्यमा पुगिन्छ भन्ने आत्मविश्वास भने थियो’ । मेरो इमानदारिता र मेहनत देखेर पार्टीले पनि नमागेको अध्यक्ष पदको टिकट थियो र जितिएको उनको भनाई छ। ‘मैले यहाँसम्म पुग्छु भन्ने सोचेको थिइन्, मेहनत गर्दा ढिलो चाडो लक्ष्यमा पुगिनेरहेछ भन्ने लागेको छ’, उनले भनिन्, हरेश नखाई मेहनत गर्न महिलाहरूलाई आग्रह गर्दछु ।’

पेसागत महासंघ केन्द्रीय स्थायी कमिटी सदस्य अशेष लम्साल, अनेमसंघ केन्द्रीय सदस्य तथा नेकपा एमाले प्रदेश कमिटी सदस्य सरस्वती खरेल, नेपाल निजामती कर्मचारी संगठन मोरङका अध्यक्ष ओमराज सुवेदी, राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संगठन केन्द्रीय सह कोषाध्यक्ष लिना यादव लगायतले दिवसको महत्त्व र महिलाको योगदानको विषयमा चर्चा गरेका थिए ।

नेपाल निजामती कर्मचारी संगठन मोरङकी उपाध्यक्ष तथा महिला विभाग प्रमुख टिका पाठक पराजुलीको अध्यक्षता तथा कानेपोखरी गाउँपालिका अध्यक्ष राजमयी इङनामको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पेसागत महासंघ मोरङकी उपाध्यक्ष पृथ्वी बस्नेतले संघर्ष गरेर अगाडि बढेका महिलाहरूलाई सम्मान गर्नुपर्छ भन्ने उद्देश्यले सुरुवात मात्र गरेको र आगामी दिनमा सम्मान कार्यक्रमलाई अझ वृहत् बनाउँदै लैजाने बताइन । कार्यक्रममा पेसागत महासंघ मोरङका अध्यक्ष प्रकाश शर्मा लगायत निजामती क्षेत्रमा कार्यरत व्यक्तित्वहरू, शिक्षकहरू तथा साहित्यकारहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा आधा दर्जनभन्दा बढी साहित्यिक व्यक्तित्वहरूले आ–आफ्नो प्रस्तुति राखेका थिए । ‘लैङ्गिक समानताको बलियो आधार, सिर्जनात्मक प्रविधिमा महिलाको पहुचकोे विस्तार’ भन्ने मूल नाराका साथ मार्च ८ अर्थात् फागुन २४ गते अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 5 =