राष्ट्रपतिमा रामचन्द्रलाई जिताउन कर्णालीका सांसदलाई ८ दलीय अभिमुखीकरण

सुर्खेत । राष्ट्रपतिमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताउन आज सुर्खेतमा गठबन्धनमा रहेका आठ दलले कर्णाली प्रदेशका सांसदहरूका लागि अभिमुखीकरण कार्यक्रमको आयोजना गरेका छन् ।

राष्ट्रपति निर्वाचनमा एउटै मोर्चा बनाएका ८ दलले आफ्ना संघीय संसद अन्तर्गत दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूलाई प्रशिक्षण दिनका लागि अभिमुखीकरणको आयोजना गरेका हुन् । आज दिउँसो २ बजे कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरको सिद्धार्थ होटेलमा आयोजना गरिएको अभिमुखीकरणमा आठै दलका विभिन्न शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

शीर्ष नेतृत्वले आफ्ना सांसदहरूलाई बदलिँदो राजनीतिक अवस्था, भावी रणनीतिका साथै राष्ट्रपतिमा गठबन्धनका तर्फबाट उम्मेदवार बनेका पौडेललाई जसरी पनि राष्ट्रपतिमा विजयी गराउनु पर्ने आवश्यकताका बारेमा प्रशिक्षण दिने तयारी रहेको बुझिएको छ ।

राष्ट्रपतिको उम्मेदवारी मनोनयनको पूर्वसन्ध्यामा फागुन १२ गते बनाइएको आठ दलीय गठबन्धनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा पार्टी सम्मिलित छन् ।

सुर्खेतमा भइरहेको अभिमुखीकरणमा नेपाली काँग्रेसका उपसभापति पूर्ण बहादुर खड्का, नेकपा माओवादी केन्द्रका नेता शक्ति बस्नेत, कर्णाली प्रदेशका मुख्यमन्त्री राज कुमार शर्मा लगायतका शीर्ष नेताहरूको सहभागिता रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *