राष्ट्रपति निर्वाचनमा तटस्थ बसेर राप्रपाले आफ्नो परिचय दिनुपर्छ

मुलुकमा जसरी व्यवस्था परिवर्तन भयो, त्यो कुनै कोणबाट पनि सही थिएन । त्यसमा जालझेल, धोकाधडी र विदेशीको भूमिका पनि जोडिएको छ । त्यही समग्र प्रक्रियाबाट अहिलेको व्यवस्था र समग्र संरचना बनेको हो । आज त्यही व्यवस्थाभित्र संविधानले ‘सेरेमोनियल’ मानेको राष्ट्रपति पदको लागि निर्वाचन हुँदैछ । तर, आज राष्ट्रपति निर्वाचनको लागि भइरहेको प्रक्रिया, बनेका, भत्किएका र फेरि बनेका गठबन्धन राजनीतिक निकासको लागि नभई केवल राजनीतिक स्वार्थ पूरा गर्ने दाउपेचको लागि मात्रै भइरहेको छ । यस्तोमा व्यवस्थाकै विकल्पमा प्रस्तुत राप्रपा कहाँ उभिने बहस चलिरहेको छ ।

राष्ट्रपति आलंकारिक पद हो, आलंकारिक पद भनेको कार्यकारी अधिकार प्राप्त संस्थाले गरेका निर्णयहरू अनुमोदन गर्ने मात्र हो । सक्रिय जीवन राजनीतिमा व्यथित गरेका र शक्तिको सदैव प्रयोग गर्दै आयका व्यक्तिहरूलाई सेरेमोनियलरूपमा राख्न सकिँदैन । सिरकले छोपेर राख्दैमा बिरालोले म्याउँ नगर्ने हैन । तसर्थ, विगतमा झैँ अहिलेको राष्ट्रपति पनि राजनीतिकरूपमा निरपेक्ष बस्न कदापि सक्दैनन् र यो अभिभावकीय संस्था हुन सक्दैन । जो विचारले नै राजनीतिभन्दा माथि उठेको छैन ।

संविधानको संरक्षक र पालकको रूपमा रहेको राष्ट्रपतिको पद र भूमिका विगतमा पनि निष्पक्ष थिएन र भविष्यमा पनि हुने देखिन्न । अहिले जो व्यक्तिहरूलाई राष्ट्रपतिमा प्रतिस्पर्धा गराइँदैछ, उनीहरू जीवनभर शक्तिको प्रयोग गरिआएका व्यक्तिहरू नै हुन् । तिनीहरूबाट निष्पक्षताको आशा गर्नु मूर्खता हुन्छ । विचार र सिद्धान्तबाट स्खलित क्रियाशील दल र तिनीहरूका प्रतिनिधिबाट प्रजातन्त्र पनि सुरक्षित रहन सक्दैन । विषय राष्ट्रपति को हुने मात्र हैन प्रजातन्त्र सुरक्षित रहने, नरहने पनि हो । शक्ति प्रयोगबाट अभ्यस्त दलगत प्रतिनिधिलाई राष्ट्र प्रमुख बनाउँदा उनीहरू पटक-पटक आफ्नो दलगत स्वार्थमा केन्द्रित रहेका उदाहरणहरू छन् र विवादित पनि छन् । त्यसैले दलभन्दा माथि उठेको संस्था राष्ट्र प्रमुखमा रहनुपर्ने आजको आवश्यकता हो ।

यस परिवेशमा राप्रपाले राष्ट्रप्रमुखमा राजसंस्था रहनुपर्छ भनी गर्दै आएको वकालत थप सान्दर्भिक देखिएको छ । संविधानको परिधिभित्र रहनेगरी निष्पक्ष संस्थाको रूपमा राजसंस्थालाई स्थापना गर्न सकियो भने यसले प्रजातन्त्रलाई मजबुत बनाउँछ । आज यही विषय राप्रपाभित्र पनि पेचिलो बन्दै गएको छ । आफ्नो मूलभूत सिद्धान्तलाई राप्रपाले सत्तासँग साट्न वा जोड्न मिल्दैन ।

राष्ट्र प्रमुखमा राजसंस्था, हिन्दूराष्ट्र यसका प्राण हुन् । कसैले मीठो बोल्दैमा, कोही कसैको नजिक हुँदैमा, कसैले कसैलाई शक्तिमा पु-याइदिने लोभलालचमा हामीलाई आफ्नो सिद्धान्त बिर्सने छुट छैन । क्रियाशील प्रायः सबै राजनीतिक दलहरू विचार र सैद्धान्तिकरूपमा स्खलित भइसकेको अवस्थामा राप्रपा आफ्नो विचारमा हिमाल झैँ अटल छ । तसर्थ, राप्रपालाई गलत गर्ने छुट छैन । त्यसलाई मध्यनजर गरेर राप्रपाले राष्ट्रपतिको लागि हुने निर्वाचनमा तटस्थ बसेर आफ्नो परिचय दिन सक्नु पर्छ । यो परिवेशमा हिमाल, पहाड र तराई सबै भेगका नागरिकले सम्मान गर्ने संस्थाको रूपमा राजसंस्था स्थापना गरेर प्रजातन्त्रलाई थप सुदृढ बनाउन राप्रपा दृढ रहनुपर्छ ।

त्यसैले मुलुक निर्माणमा अतुलनीय योगदान गरेको राजसंस्थालाई हिजो हामीले विदेशीको इशारामा होस् वा कसैको कुण्ठाको कारण हटाएर गम्भीर गल्ती गरेका छौँ । आज इतिहासले त्यो गल्ती स्विकार्ने र सुधार्ने अवसर सबै राजनीतिक दलहरूलाई दिएको छ । सबैले मान्ने गरेको आदर्शपुरुष प्रजातान्त्रिक आन्दोलनमा उचाइ प्राप्त गरेका स्व. बिपी कोइरालालाई मनैदेखि सम्झने दिन आएको छ । व्यक्तिगतरूपमा आफूले राजसंस्थाको कारण दुःख पाए पनि बृहत् नेपाली राष्ट्रिय हितको निमित्त किन उनले जीवनभर राजसंस्थाको पक्षमा वकालत गरे आजको पिँढीले त्यो बिर्सन हुन्न ।

इतिहास सधैँ भविष्यको मार्गदर्शन भएर रहन्छ । यो सत्यलाई आत्मसात् गर्दै प्रजातन्त्र बचाउन र मुलुकलाई प्रजातान्त्रिक माध्यमबाट विकासको युगमा लान सबैले पुराना रिस, राग, कुण्ठा त्यागेर राष्ट्रप्रमुखमा राजसंस्था रहने गरी बृहत् सहमति कायम गराउन छलफलको सुरु गरौँ । मुलुकको ठोस आवश्यकताको ठोस विश्लेषण गरी प्रजातन्त्रलाई थप बलियो र मजबुत बनाउँदै अगाडि बढ्नुपर्ने गम्भीर दायित्व यतिबेला क्रियाशील राजनीतिक दलहरूको काँधमा आएको छ । यस परिवेशमा लडाइँको मोर्चा आफैले सम्हाल्दै हरेस नखाई मुलुक निर्माणमा योगदान पु-याएका, प्रजातन्त्र स्थापनार्थ गद्दी दाउमा लगाएका, विदेशीहरू सामु कहिल्यै लम्पसार नपरेका, मुलुकलाई पटक–पटक उपनिवेश हुनबाट जोगाएका, गद्दी त्याग गर्दासमेत पत्रकार सम्मेलन गरेर पाखा लाग्न सक्ने क्षमता प्रस्तुत गरेको शक्तिलाई पुनःस्थापना गर्नुको विकल्प छैन । प्रजातन्त्रलाई थप बलियो बनाउँदै बृहत् राष्ट्रिय हितमा अगाडि बढ्नको निमित्त सबैदलहरुमा चेतना आउनुपर्छ ।

  • पाठक राप्रपाका केन्द्रीय समिति सदस्य हुन् ।
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 3 =